Shittalpati
पाँच सय बढी श्रमिकहरुको निःशुल्क स्वास्थ्य जाँच गर्दै निर्माणकर्मी संघ

पाल्पा, निर्माण क्षेत्रका श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको साझा संस्था भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाले श्रमिक तथा निर्माणकर्मीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिरहेको छ । संघले निर्माण क्षेत्रमा कार्यरत पाँच सय ५० श्रमिकहरुको स्वास्थ्य जाँच गर्दै छ ।

युनाइटेड मिसन अस्पतालको प्राविधिक सहयोगमा उसले बुधबारदेखि श्रमिकहरुको स्वास्थ्य परीक्षण गरेको हो । पहिलो दिन तानसेन नगरपालिकाका ५ वटा वडाका एक सय ५० जनाको स्वास्थ्य जाँच गरिएको छ । दैनिक श्रममा व्यस्त हुँदा श्रमिकहरुलाई आफ्नो स्वास्थ्य अवस्थाबारे खासै जानकारी नहुने र स्वास्थ्य अवस्था जटिल भइसकेपछि मात्र हस्पिटल पुग्ने अवस्थाको सिर्जना नहोस् भन्ने उद्देश्यले शिविरमार्फत निःशुल्क स्वास्थ्य परीक्षण गरिएको संघका अध्यक्ष सुरेश कर्माचार्यले बताए । उनले भने ‘अधिकांस श्रमिकहरुमा चेतनाको अभावका कारण रोग पालेर बस्ने गरेका छन् । जब जटील अवस्था सिर्जना हुन्छ तब मात्र उनीहरु अस्पताल दौडिन्छन्, जसले गर्दा उनीहरु जोखिममा छन् भन्ने लागेर चेतनासँगै स्वास्थ्य परीक्षणको अभियान चलाएका हौं ।’ अध्यक्ष कर्माचार्यले निर्माण क्षेत्रमा काम गर्ने धेरै जसो श्रमिकहरुमा कुनै न कुनै समस्या रहेको बताए । उनले भने ‘अधिकांस श्रमिकहरुमा आफुलाई उच्च रक्तचाप, सुगर भएको समेत थाहा छैन् तर जाँच गर्दा उक्त समस्या देखिने गरेको छ, यस्तो अवस्थाको अन्त्य गर्न हामीले सचेतनासँगै स्वास्थ्य परीक्षण गरिदिएका हौं ।’ निर्माण क्षेत्रमा काम गर्ने सबै श्रमिकहरुको घर ठाउँमै पुगेर स्वास्थ्य जाँच, औषधि वितरणसँगै आवश्यक परामर्श दिने गरेको अध्यक्ष कर्माचार्यले बताए । उनले भने ‘अब ६/ ६ महिनामा स्वास्थ्य परीक्षण गरिने र अहिले परीक्षण गराई औषधि सेवन गर्नेहरुको बेला–बेलामा फलोअफ गर्छौं ।’

स्वास्थ्यकर्मीसहितको टोलीले ठाउँ–ठाउँमा पुगेर स्वास्थ्य जाँच गरिरहेका छन् । उनीहरुले स्वास्थ्य जाँचपछि आवश्यक औषधि र परामर्श समेत दिइरहेका छन् । चेक जाँच गर्दा अधिकांस श्रमिकहरुमा नसर्ने रोग बढी देखिएको युनाइटेड मिसन अस्पतालका डाईबेटिज काउन्सिलर दीपक विसीले बताए । उनका अनुसार पहिलो दिन परीक्षण गरेका मध्ये ५० प्रतिशतमा उच्च रक्तचाप र ३० प्रतिशतमा सुगर देखिएको छ । अन्य श्रमिकहरुमा ढाड दुख्ने, घोडा दुख्ने, कम्मर दुख्ने, छाला सम्बन्धी समस्या देखिएको काउन्सिलर विसीले बताए । अधिकांस श्रमिकले अल्कोहल बढी सेवन गर्नेहरुमा उच्च रक्तचाप र सुगरको समस्या बढी देखिएको उनको भनाई छ । विसीले भने ‘हामीले चेक जाँच गरेर आवश्यक औषधि दिने गरेका छौं, त्यति मात्र होइन उहाँहरुलाई अल्कोहल नखान र खाएमा हुन सक्ने जोखिमका बारेमा परामर्श दिने गरेका छौं ।’

विहीबारसम्म चल्ने शिविरमा नगरभित्रका वडा न. १, २, ३, ४, ४, ५, ६, ७, ८, १० र १२ पुगेर निर्माण क्षेत्रमा काम गर्ने सम्पूर्ण श्रमिक तथा निर्माणकर्मीहरुको स्वास्थ्य परीक्षण गरिने संघका उपाध्यक्ष निलकण्ठ देवकोटोले बताए । उनले भने ‘हामीले संघमा आवद्ध भएका सबै श्रमिकहरुको घर टोल र कार्यस्थलमै पुगेर स्वास्थ्य परीक्षण गरिरहेका छौं, उहाँहरु उत्साहका साथ शिविरमा आई चेक जाँच गरिरहनु भएको छ ।’ साँझ बिहानको जोहो गर्न मुस्किल पर्ने श्रमिकहरूलाई निःशुल्क स्वास्थ्य शिविरले ठूलो राहत मिल्ने संघका सचिव हुमराज बस्यालले विश्वास व्यक्त गरे । उनले भने‘ धेरैलाई आफुलाई सुगर, प्रेसर छ भन्ने सम्म हेक्का रहेन छ, जाँच गरेपछि मात्र उहाँले आफुहरुमा समस्या रहेको थाहा पाउनुभयो, यसले कम्तीमा पनि जोखिमबाट बच्न सर्तक त बनाउने भयो ।’ स्वास्थ्य उपचार गराउन आएका रामबहादुर गहाले आफ्नो स्वास्थ्यप्रति हामी आफैले लापरवाही गर्दै आएका रहेछौैं भन्ने महशुस भएको बताए । उनले निर्माणकर्मी संघले आफुहरु जस्ता श्रमिकहरुलाई अभिभाकत्व प्रदान गरेकोमा खुसी व्यक्त गरे  । गाहाले श्रमिकहरूको स्वास्थ्य उपचार राज्यले निःशुल्क गर्ने व्यवस्था गर्न सके हामी जस्ताहरूले अकालमा ज्यान गुमाउने अवस्थाको अन्त्य हुने समेत बताए ।

 शिविरमा युनाइटेड मिसन अस्पतालका डाईबेटिज काउन्सिलर दीपक विसी, सिनियर मेडिकल असिष्टेनहरु दीपक कुंवर र विजय शर्माले श्रमिकको स्वास्थ्य जाँच गरिरहेका छन् । निर्माण कार्यलाई गुणस्तरीय र भूकम्पीय दृष्टिबाट मजबूद भवन निर्माण गर्नुको साथै संघमा आवद्ध रहेका श्रमिक वर्गको हकहितका विषयमा संघले विगतदेखि नै महत्वपूर्ण काम गर्दै आएको छ । उसले यति मात्र होइन श्रमिकको स्वास्थ्यपचार, दुर्घटनाबाट हुने मृत्युबाट परिवारमा पर्न जाने समस्या, सुत्केरी पोषणभत्ता, एकल महिला भत्ता, वृद्धाभत्ता, श्रमिकहरुको सामूहिक दुर्घटना बीमा, श्रमिक तथा निर्माणकर्मीका सन्तानलाई शिक्षाको लागि छात्रवृत्ति लगायतका राहतका कार्यक्रमलाई समेत उच्च महत्वका साथ लिएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update