Shittalpati
नेपाली सेनाले सुरु गर्‍यो तेस्रो गोरखा–जितगढी पदयात्रा

पाल्पा, नेपाली सेनाले विहीबारदेखि तेस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु गरेको छ । ऐतिहासिक कोट, गढी, किल्लाहरुको संरक्षण गर्न र इतिहास जोगाउने लक्ष्यका साथ सेनाले गोरखा–जितगढी एकीकरण पदयात्राको थालनी गरेको हो ।

सेनाले गोरखा दरबारदेखि जितगढीसम्मको पदयात्रा सुरु गरेको छ । यो पदयात्रा नेपाली सेनाको आयोजना र स्थानीय तहहरुको सहयोगमा गोरखा–तनहुँ–स्याङजा–पाल्पा हुँदै रुपन्देहीको जितगढीसम्म पुग्नेछ । पदयात्रामा निस्किने टोली बैंशाख २ गते पाल्पाको रामपुर आइपुग्ने छ । टोलीले पालुङटारस्थित सतिघाटमा पुगेर तनहुँलाई र तनहुँले पाल्पास्थित सेनाको टोलीलाई झन्डा हस्तान्तरण गर्ने छ । त्यसैगरी पाल्पाले रुपन्देही र रुपन्देहीको सेनाको टोली जितगढी पुगेर आगामी वैशाख ७ गते विजयोत्सवमा सहभागी हुने कार्यक्रम रहेको छ ।

वैशाख २ गते उक्त टोलीको प्रतिनिधि मण्डल र पाल्पास्थित दि फेमस महिन्द्र दल गणले पाल्पाको गढी तथा किल्लासम्मको यात्रा गर्ने जनाइएको छ । रामपुरको केलादीदेखि तिनाउको नुवाकोट गढीसम्म पदयात्रा गर्ने कार्यक्रम तय भएको तानसेनमा आयोजित समन्वयात्मक बैंठकमा गणपति प्रमुख सेनानी भूपेन्द्र गुरु·ले जानकारी दिए । पाल्पाको टोलीले रुपन्देहीलाई हस्तान्त्रण गरेपछि जितगढी पुगेर समापन हुने छ । उनले नेपाल अंग्रेज युद्धमा अंग्रेज फौजलाई परास्त गर्न प्रयोग भएका गढी, किल्ला र पदमार्गको पहिचान गरी त्यसको प्रर्वद्धन गर्न पदयात्रा सञ्चालन गर्न लागिएको बताए । 

‘एकीकरण मार्गलगायत ऐतिहासिक धरोहरको जगेर्ना गर्ने, ऐतिहासिक एकीकरण सम्बन्ध भावी पुस्तालाई हस्तान्तरण गर्ने यो अवसर पनि हो,’ गणपति गुरुङले भने, ‘राष्ट्रिय एकताको भावना थप प्रगाढ बनाउने छ ।’ पर्यटन सम्भावनालाई खोजी गर्दै पदमार्गको विकास गर्ने, वर्तमानलाई भविष्यसँग जोड्न पदयात्रा गर्न लागिएको उनले बताए ।

यात्रामा पृथ्वीनारायण शाहले तत्कालीन समयमा खडा गरेका पाँच पल्टन पुरानो गोरख, कालिबक्स, बर्दवाणी, सवुज र श्रीनाथ र जितगढीको लडाइमा भाग लिएका गुरुबक्स पल्टनका ५३ जनाको टोली सहभागी हुने छन् । गोरखाको टोली पालुङटारको सतिघाट पुगेर तनहुँलाई उज्यालोको प्रतिक स्वरुप टर्च हस्तान्तरण गर्ने र तनहुँले पाल्पालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको पदयात्राका संयोजक सेनानी जितबहादुर कार्कीले जानकारी दिए ।

सेनाले विसं २०७९ देखि गोरखा दरबार जितगढी एकीकरण मार्गमा पदयात्रा गर्न थालेको हो । नेपाल आक्रमणमा आएको अंग्रेज सेनालाई पराजित गरेको दिनको स्मरण गर्दै बैंशाख ७ गते ऐतिहासिकस्थल जितगढी किल्लामा विजयोत्सव मनाउने गरिन्छ ।

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update