
अहिले मुलुकले अभ्यास गरिरहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली हो । यो राजनीतिक प्रणालीभित्र रहेर मुलुकको राजनीति चलिरहेको छ । तर राजनीतिक प्रणालीको हिसाबले इतिहास भइसकेका पूर्वराजा ज्ञानेन्द्र शाहले बेलाबखत दिने अभिव्यक्तिले भने मुलुकको राजनीति तरंगित भइरहेको छ । पूर्वराजाको अभिव्यक्तिमाथि टीकाटिप्पणी र क्रिया–प्रतिक्रिया व्यक्त भइरहेका छन् । यसले व्यवस्थालाई नै धरापमा पार्ने सम्भावना बढेर गएको छ । यस्तो अवस्था सिर्जना हुनुले व्यवस्थाका पक्षधरहरुको कमजोर मानसिकता झल्काउँछ । अहिले सडकमा राजावादी उत्रिनु दुखद् हो ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक अभ्यासलाई अपनाएको लामो अवधि बितिसक्दा पनि अझै व्यवस्था कमजोर हुनु भनेको राजनीतिक दलका नेता–कार्यकर्ताहरुको बेइमानी चरित्र हो । जनताको बलिदानीपूर्ण आन्दोलनबाट ल्याइएको संघीय लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्नु कदापी राम्रो हुन सक्दैन । सरकार र ठूला लोकतान्त्रिक दलहरूले अविलम्ब जनतालाई चित्तबुझ्दो जवाफ दिनुका साथै आफूलाई जिम्मेवार तथा जवाफदेही बनाउँदै नलैजाने हो भने नेपालको लोकतन्त्र पतनको बाटोमा जाने कुरामा कुनै सन्देह रहने छैन ।
यति बेला आमसर्वसाधारण निराश छन् । मुलुकमा भविष्य नदेखेर दिनहुँ हजारौँ मानिस युरोप, अमेरिकादेखि खाडी मुलुकमा अध्ययन र काम गर्न गइरहेका छन् । नीतिगत भ्रष्टाचारले राज्यका संयन्त्रहरु जर्जर बनेका छन् । राज्य संयन्त्र बिचौलियाको चंगुलमा रहेको छ । यसकारण निराश भएका जनतालाई सार्वजनिक सेवा प्रवाहमा सुधार, समुदाय केन्द्रित दिगो विकास, उनीहरुको हकहितका आवाजलाई सम्बोधन गरी राजनीतिक दलका नेताहरुले जनताको विश्वास लिनुपर्ने हो । जनतामा आशा जगाउनुपर्ने हो । निराश भएका जनताले इतिहास भइसकेको राजसंस्थामा भविष्य देख्नुपर्ने स्थिति पूर्वराजाकै कारणले नभई दलहरुले राम्ररी राज्य सञ्चालन गर्न नसकेको परिणतिबाट जन्मिएको हो । यो कुरा बुझेर पनि किन बुझ पचाइराखेको हो ? व्यवस्था कमजोर हुनुका कारणमध्ये नेताहरुको आफ्नो दुनो सोझ्याउने स्वार्थ केन्द्रित कार्यशैली, नीतिगत भ्रष्टाचार, राज्यको स्रोत–साधन आसेपासेलाई वितरण आदि पनि हुन् । यति भन्दै गर्दा लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन । यसर्थ अब दलहरु सच्चिएर लोकतन्त्रलाई कमजोर होइन बलियो बनाएर लैजाने दिशामा सोच्न जरुरी छ ।