
पाल्पा, सिद्धार्थ राजमार्गअन्तर्गतको सिद्धबाबा क्षेत्रमा गुडिरहेको कारमा पहिरो खस्दा एक जना घाइते भएका छन् । आज विहान जिल्लाको तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धाबाबा क्षेत्रमा बुटवलबाट पाल्पा आउँदै गरेको लुम्बिनी प्रदेशको ०१–०० १ ज ०२७६ नम्बरको कारमा सडकमाथिबाट खसेको ढुङ्गासहितको पहिरोले लागेर कारमा सवार एक जना घाइते भएका हुन् ।
कारमा ४ जना सवार रहेकोमा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरिक्षक (एसपी) नरेन्द्र चन्दले जानकारी दिए । घाइते हुनेमा बुटवल तिलोत्तमा नगरपालिका –१६ का ५० वर्षीय गणेश गैरे रहेको एसपी चन्दले बताए । घाइते गैरेको अहिले लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
उनीहरु पाल्पाको भैरवस्थान दर्शन गर्न भनि हिडेका थिए । ठूलो ढुङ्गासहितको पहिरो कारमाथि खस्दा कार पूर्ण रुपमा क्षति भएको छ । पहिरोका कारण केही समय सडक समेत अवरुद्ध बनेको थियो । सडक अवरुद्ध हुँदा बुटवल, पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ लगायतका गन्तव्यमा पुग्ने सवारी साधनहरु सडकमै रोकिएका थिए । अहिले सडक सुचारु भएको छ ।