Shittalpati
चिन्ता गर्नु पर्दैन योग्य र सक्षम व्यक्ति नै गभर्नर नियुुक्ति गर्छौं : अर्थमन्त्री पौडेल

पाल्पा, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर योग्य र सक्षम व्यक्तिलाई नियुक्ति गर्ने बताएका छन् । शनिबार नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले बाहिर जसरी हल्ला फैलाइएको छ त्यस्तो नरहेको भन्दै योग्य र सक्षम व्यक्ति नै नियुक्ति गर्ने तयारी सरकारले गरेको बताएका हुन् ।

पत्रकारहरुले राखेका जिज्ञासाको जवाफ दिदै मन्त्री पौडेलले भने “बजारमा अहिले गरिएको चर्चा जस्तो हुँदैन्, यो विषयमा अहिले अनावश्यक चर्चा चलेका छन्, सरकारले क्या राम्रो निर्णय गर्‍यो भन्ने सन्देश जाने गर्ने गरि निर्णय छिट्टै आउँछ, चिन्ता गर्नु पर्दैन ।”

उनले अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझावलाई कार्यान्वयन गर्ने पनि बताए । मन्त्री पौडेलले भने “ सरकारले आयोगको प्रतिवेदनलाई गम्भीरता पूर्वक अध्ययन गर्ने छ र तत्काल सम्भव हुने सुझावहरुलाई कार्यान्वयनको योजना बनाएर जान्छ ।” अर्थतन्त्रलाई चलायमान र सुधार गर्ने कुराहरुलाई तत्काल कार्यान्वयनको चरणमा लैजाने उनले बताए ।

मन्त्री पौडेलले अनुशासित ढंगले स्रोत व्यवस्थापन गरेर आगामी वर्ष २०८२/८३ को बजेट ल्याउने तयारीमा सरकार रहेको समेत बताए । उनले भने, “अनुशासित ढंगले स्रोत व्यवस्थापन, परिचालन गर्ने ढ·ले जान सकेनौं भने हामी अप्ठ्यारोमा पर्छौं । त्यसकारण मुलुकलाई आर्थिक रुपमा अप्ठ्यारोमा पर्न दिनुहुँदैन । ठिक ढङ्गले अघि बढ्नुपर्छ भन्ने कुरामा सरकार सचेत छ ।” यो पटकको बजेट प्रतिफल दिने खालको हुने र नीजी क्षेत्र र उत्पादनको क्षेत्रलाई प्राथमिकता दिने पनि मन्त्री पौडेलले बताए । कालीगण्डकी करिडोर निर्माणको अवस्था अन्तिम चरणमा रहेको भन्दै बाँकी रहेको राम्दी रानी महल क्षेत्र चाँडै निर्माण हुने पनि उनले बताए । पाल्पा र आसपासका क्षेत्रको विकासका लागि आफू गम्भीर भएर लागेको उनले उल्लेख गरे ।

फरक प्रसंगमा मन्त्री पौडेलले प्रतिगामी तत्वहरु जनस्तरबाटै परास्त हुँदै गएको बताए । राजा ल्याउने अभियानमा लागेका प्रतिगामी तत्वले पहिलो पटक टाउको उठाएकै बखत निस्तेज भएको उनको भनाई छ । मन्त्री पौडेलले भने “हाम्रो काम लोकतन्त्रलाई संस्थागत गर्ने हो, त्यो गर्छाै ।” मुलुकको लोकतन्त्र र संविधान मास्न खोज्ने तत्व जति नै लागे पनि जनताले लोकतन्त्रिक व्यवस्थामा देखा परेका केही अवस्थामा सुधार चाहेको मन्त्री पौडेलको भनाई छ । उनले अराजकता फैलाउने जो सुकै भए पनि सरकारले कानुनको दायरामा ल्याएरै छाड्ने भन्दै विश्वस्त रहन पत्रकारहरुलाई आग्रह गरे । मन्त्री पौडेलले सहकारी क्षेत्रको वित्तीय व्यवस्थापन, भ्रष्टाचार न्युनिकरण, सेवा प्रवाहमा तदारुकताका साथ अगाडि बढ्ने कार्यमा वर्तमान गठबन्धन सरकार प्रतिवद्ध भएर लागेको समेत बताए । नेपाल पत्रकार महासङघ पाल्पाका अध्यक्ष कमल तिमिल्सेनाको अध्यक्षता, उपाध्यक्ष मुक्तिप्रसाद न्यौपानेको स्वागत, सचिव रामचन्द्र रायमाझीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update