Shittalpati
नयाँ वर्षको स्वागत

आज नयाँ वर्षको आरम्भिक दिन । २०८१ साललाई विदाई गरेर आजैदेखि २०८२ लाई स्वागत गर्दैछौं । विभिन्न भोगाइ र घटनाका अनुभव दिलाएर ८१ हामीबाट बिदा लिएको छ । ८२ साललाई आपसमा शुभकामना दिँदै स्वागत गर्दैछौं । देशभरि नै यस दिनलाई आपसमा शुभकामना आदान–प्रदान गर्ने र आगामी समयका लागि सङ्कल्प गर्ने दिनका रुपमा लिइएको छ । हरेक नयाँ वर्षको आरम्भ भएसँगै चौतर्फी एउटा छुट्टै उत्साह र उमङ्गको माहोल बनेको हुन्छ । नयाँ वर्षले जोस–जाँगरको सन्दर्भमा होस् या केही नयाँ र फरक गर्ने प्रतिबद्धतामा होस्, एउटा ठोस आकार प्रदान गर्छ भन्ने आममान्यता छ ।

नयाँ वर्षलाई आधार मानेर सपना देख्ने र त्यसलाई साकार पार्ने अभियान पनि सुरू भएको पाइन्छ, यद्यपि त्यसरी देखिएका सपनाहरु समयक्रममा अधिकांशको पूरा हुन भने सक्दैनन् । नयाँ वर्षसँगै विकसित भएको नवीन उमङ्ग र अवसरमात्रै नभएर चुनौतीहरुको आगमनका रुपमा पनि यस समयलाई ग्रहण गरिएको छ । त्यसैले एकातिर खुसी हुँदै गर्दा अर्कोतिर थप जिम्मेवारी वहन गर्नुपर्ने वातावरण पनि सँगसँगै निर्माण भैरहनु अस्वाभाविक छैन । आफूमा रहेका नराम्रा बानीहरुमा परिवर्तन गर्ने उचित समयका रुपमा लिँदा र भावी दिनमा सोचेका कामहरु साकार गर्ने अभ्यासका रुपमा ग्रहण गर्दा नयाँ वर्षको आगमन आफैँमा लोभलाग्दो हुने पक्षमा सन्देह रहँदैन । पहिलो कदम चाल्ने शुभ अवसरका रुपमा समेत लिइने नयाँ वर्षले नवीन सङ्कल्प गर्न अभिप्रेरित गर्ने र आगामी वर्षभरि त्यसलाई अवलम्बन गर्ने जुन प्रकारको सोचलाई प्रवद्र्धन गर्छ त्यो आफैँमा विशिष्ट प्रकृतिको लाग्छ । हरेक वर्षझैँ यसपल्टको नयाँ वर्षमा पनि आशाको सञ्चार हुनु स्वाभाविक छ ।

एउटा वर्ष सकिनु भित्तामा पात्रो फेरिनु मात्रै होइन । विगतमा भएका घटना र यसबाट पाठ सिक्दै आगामी सम्भावनाको खोजी पनि नयाँ वर्षले गर्छ । वितेको वर्षमा भएका घटनाबाट व्यक्ति, समाज र राष्ट्रले धेरै शिक्षा लिन सक्छ । आगामी वर्षमा कसरी अघि बढ्ने भन्नेबारे मार्गचित्र बनाउन सक्छ । नयाँ वर्षको उत्तरोत्तर खुड्किलो चढ्ने क्रममा हाम्रा पाइला भने सुस्त गतिमा छन् । हर्षोल्लासपूर्ण यस घडी कतिपय निराशाले जकडिएको छ । देशको राजनीतिक, आर्थिक एवं सामाजिक क्षेत्रको परिसूचक ओरालो यात्रामा छ । नयाँ वर्षको नवउत्साहसँगै त्यसलाई हामीले बदल्नुछ । देशलाई दिशा र गति दिनुछ । यस पावन अवसरमा तपाईं–हामी सबैमा त्यो सामथ्र्य आर्जन हुन सकोस् । अघिल्लो दशक र वर्षका अनिष्ट एवं अहितकर विषयलाई पन्छाएर भावी दिन सुखद, समृद्ध र स्वस्थ बन्न सकून् । नयाँ वर्षको स्वागतसँगै सबै शुभकामना !

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update