
पाल्पा, विक्रम संवतको पात्रोअनुसार नयाँ वर्ष सुरु भएको छ । मध्यरातबाट २०८१ साल सकिएर २०८२ साल सुरु भएको हो । हरेक १ वैशाखलाई विक्रम संवतको पात्रोअनुसार नयाँ वर्षको रुपमा मनाउने गरिएको छ । नयाँ वर्षको आगमनलाई विगतको भन्दा आउँदा दिन अझ बढी फलदायी र सुखमय रहून् भन्ने कामनाका साथ उल्लासमय ढङ्गले मनाइन्छ । विगतका दिनमा भएका हानिनोक्सानी तथा राम्रा नराम्रा घटनाक्रमको विवेचना गरेर आउँदा दिनमा ती सबै अनुभवलाई पाठका रूपमा अँगाल्दै विभिन्न खाले रचनात्मक कार्य थालेर नयाँ जीवनको आरम्भ गर्ने सङ्कल्प यही दिनमा गर्ने गरिन्छ । नयाँ वर्षको दिन भनेको नयाँ उमङ्ग, नयाँ उल्लास, नयाँ कामको सुरुवाती गरिने दिनका रूपमा लिइन्छ । त्यसैले यस दिनलाई नेपाल तथा विश्वभर छरिएर रहेका नेपालीले हर्षोल्लासका साथ मनाउने गर्छन् ।
नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज देश–विदेशमा रहेका नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरेर मनाउँदै छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ । नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्त गर्दै, मिष्ठान्न भोजन बाँड्दै, साँस्कृतिक उत्सव आयोजना गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ ।
संस्कृतिका जानकार गोविन्दभक्त पौडेलले पुरानो वर्ष पूरा भएर नयाँ वर्ष लाग्ने क्रममा विशेष उत्साह एवं उम·का साथ मनाइने विश्वव्यापी चलन रहेको बताउन्छन् । “नयाँ वर्ष भन्नेबित्तिकै नयाँ जोश, नयाँ सोच र नयाँ उमङ्ग थपिनु स्वाभाविक हो । त्यसमाथि मानिस आशावादी हुन्छ । आशाले भविष्य निर्माणलाई सघाउन मद्दत गर्छ ” उनले भने “नेपालीमा जुन किसिमले नयाँ परिवर्तन आइरहेको छ, त्यसमा युवा पुस्ताले आफ्नोपनलाई बिर्सेका छन् ।”
संस्कृतिका अर्का जानकार धुर्व पंगेनीले नयाँ वर्ष आशा र उम·को अवस्थाविशेष भएको बताउन्छन् । उनका अनुसार अघिल्ला वर्षमा भएका सबै दुःखकष्ट आउँदो वर्षमा हराउँला भन्ने सङ्कल्प लिएर नयाँ वर्ष मनाइन्छ । आफ्नो परम्परा, धर्म, संस्कृति एवं सभ्यताको रक्षाका लागि नयाँ वर्ष मनाउनु त छँदै छ त्यसबाहेक वर्षभरिका तितामिठा पललाई बिसाएर नवीन उत्साहका साथ नयाँ दिन थाल्ने र सुरुको दिन राम्रो बनाएपछि वर्षभरि नै राम्रो हुने विश्वास बोकेर नयाँ वर्ष मनाउनुपर्ने उनी बताउन्छन् । सफलता प्राप्त गर्न आजका दिन नयाँ योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । यो दिन नयाँ कामको थालनी गर्ने चलन पनि छ । आज बिहानै स्नान गर्ने, मन्दिर वा आफ्नो आस्था अनुरुपको धार्मिक स्थलमा जाने, घर सफा गर्ने, मिठो–मिठो खाने, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ । विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम संवत् भनिएको हो । मल्ल कालदेखि नेपालमा मौलिक संवतका रूपमा विक्रम संवत् चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो संवत् चल्छ । भारतमा सरकारी संवत् शक सम्वत भए पनि व्यवहारमा इस्वी संवत् चलेको छ ।