
पाल्पा, तेस्रो गोरखा–जितगढी पदयात्रा सञ्चालन गरेको नेपाली सेनाको टोली पाल्पा आईपुगेको छ । गोरखा, तनहुँ, स्याङ्जा हुँदै आज पाल्पा आइपुगेको हो ।
चैत २८ गतेदेखि पदयात्रा सुरु भएको थियो । उताबाट आएको फौजले पाल्पामा तैनाथ फौजलाई पाल्पा र स्याङ्जाको सीमाना केलादीघाटमा झण्डा हस्तान्तरण गरेको छ । उक्त टोलीलाई आज विहान त्यहाँ भव्य स्वागत गरिएको छ । स्वागतमा स्याङ्जा चापकोटा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तारादेवी पोखरेलले पाल्पाको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापालाई झण्डा हस्तान्तरण गरेकी थिइन् । टोलीलाई पाल्पास्थित नेपाली सेनाको द फेमस महीन्द्र दल गणले केलादीमा स्वागत गरेको हो ।
पदयात्रमा नेपाली सेनाको टोली, जनप्रतिनिधि, नागरिक, विद्यार्थी, कर्मचारीसँगै पत्रकारको सहभागितामा नेपाली मौलिक बाजा पञ्चेबाजा, राष्ट्रिय झण्डा, सम्बन्धित गणको झण्डा, नेपाली सेनाको ब्याण्डमा नाँच्दै, गाउँदै गरेका दृश्यहरु देख्न सकिन्छ । सेनाले सैनिक नागरिक सम्बन्धको सुमधुर सम्बन्धलाई कायम गरि थप विस्तार गर्न पदयात्राले महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको पदयात्रामा सहभागी सेनाको टोलीलाई स्वागत गर्न पुगेका जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले बताए ।
ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्ग लगायतका धरोहरको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने तथा सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यले सेनाले पदयात्रा गरिरहेको छ । उक्त पदयात्राका क्रममा सेनाको टोली अहिले पाल्पा आइपुगेको हो । यात्राले ऐतिहासिक गढी, किल्ला, दरबार तथा एकीकरणको क्रममा प्रयोग भएका मार्गहरू पहिचान गरी, संरक्षण, सम्वर्द्धन र विकास गर्न सघाउ पुग्ने प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले विश्वास व्यक्त गरे ।
नेपाली सेनाको आयोजना र स्थानीय तहहरुको सहयोगमा सेना पदयात्रामा निस्किएको हो । उक्त टोलीको प्रतिनिधि मण्डल र पाल्पास्थित ‘दि फेमस महिन्द्र दल गण’ ले मंगलबारदेखि पाल्पाको गढी तथा किल्लासम्मको यात्रा गर्ने छन् । उक्त टोलीले पहिलो दिन केलादीघाट हुँदै देवीस्थान बगैचा, श्रीनगर होटल दर्छा सिताकुण्ड, तुने भञ्ज्याङ्ग, बेलडाँडा, सिलुवा पिलुवा जब्गादी, विरकोट ३५ किलोमिटर यात्रा गर्दै छ । वैशाख ३ गते विरकोट बाकुमगढी देउराली, हुमिन देविनगर, झडेवा जगत गोठादी हुँदै माथागढी ३९ किलोमिटर टोलीले पदयात्रा गर्ने पाल्पास्थित ‘दि फेमस महिन्द्र दल गण’ का गणपति प्रमुख सेनानी भूपेन्द्र गुरुङ्गले जानकारी दिए । उनका अनुसार बैशाख ४ गते माथागढी, गोठादी झडेवा हर्नेटार, मर्मरा शिकारकोट, दमार, सराई माडी दमकडा हुँदै बाँसटारी प्रभास ३५ किलोमिटर यात्रा गर्ने छ ।
बैशाख ५ गते प्रभास, लामडाँडा, बर्तुङ्ग, तानसेन, काजीपौवा हुँदै पुनः प्रभास आएर १७ किलोमिटर यात्रा गरि वास बस्ने छ । सोही दिन तानसेनमा सर्वसाधारणदेखी जिल्लाका प्रमुख स्थानहरुको अवलोकन तथा कर्णेल उजिर सिंह थापाले निर्माण गरेको भगवती मन्दिरको दर्शन गर्ने कार्यक्रम पदयात्रीहरुको रहेको छ । वैशाख ६ गते प्रभास डुम्रे, मस्याम हटिया, मरेक, रानीवास दोभान ३२ किलोमिटर यात्रा गर्ने छ । बैशाख ७ गते नेपाली सेनाले अंग्रेज सेनालाई पराजित गरी विजय उत्सव गरेको दिन पदयात्रा टोलीले दोभान नुवाकोटगढी देउरालीमा पुगी बुटवलको टोली तारादल गणलाई झण्डा हस्तान्तरण गरी जितगढी विजय उत्सवमा सहभागी हुने कार्यक्रम रहेको छ । तत्काली समयमा राज्य एकिकरणको क्रममा प्रयोग भएका सम्पादहरु गढी , किल्ला, मार्ग देखि नेपाल–अंग्रेज युद्ध र नेपाली सेनाको विरासतसँग जोडिएका ऐतिहासिक दस्ताबेज, महिमालाई नयाँ पुस्ता माझ पुर्नताजगी गराउन पदयात्राले सहयोग पुगेको श्री २२ नंम्बर बाहिनी अड्डा बुटवलका बाहिनीपति सहायक रथी पुरुषोत्तम खड्काले बताए ।
‘एकीकरण मार्गलगायत ऐतिहासिक धरोहरको जगेर्ना गर्ने, ऐतिहासिक एकीकरण सम्बन्ध भावी पुस्तालाई हस्तान्तरण गर्ने यो अवसर पनि हो,’ द फेमस महिन्द्र दल गणका सेनानी जितबहादुर कार्कीले भने, ‘राष्ट्रिय एकताको भावना थप प्रगाढ बनाउने छ ।’ पर्यटन सम्भावनालाई खोजी गर्दै पदमार्गको विकास गर्ने, वर्तमानलाई भविष्यसँग जोड्न पदयात्रा गर्न लागिएको संयोजक कार्कीले बताए ।
पदयात्रामा नेपाली सेनाका ५३ जना अधिकृत, सकलदर्जा, सुरक्षाकर्मीको सहभागिता रहेको छ । पदयात्रा गोरखाबाट सुरु भई रुपन्देहीको जितगढी किल्ला पुगेर विजय उत्सवका रुपमा सहभागी भई टुँगीने छ । नेपाल आक्रमणमा आएको अंग्रेज सेनालाई पराजित गरेको दिनको स्मरण गर्दै बैंशाख ७ गते ऐतिहासिक स्थल जितगढी किल्लामा विजयोत्सव मनाउने गरिन्छ । १८७२ वैशाख ७ मा अंग्रेज सेनामाथि नेपाली सेनाले विजय प्राप्त गरेको दिन पारेर बुटवल उपमहानगरपालिकाले हरेक वर्ष विजयोत्सव मनाउँदै आएको छ । जितगढी किल्लालाई केन्द्रविन्दु बनाएर तत्कालीन पाल्पा राज्यका कर्णेल उजिरसिंह थापा नेतृत्वको फौजले झण्डै ३ महिना अंग्रेजसँग लडेको र दुईपटक अंग्रेज सेनाले आक्रमण गर्दा पनि उसलाई पराजित गर्दै गोरखपुरसम्म लखेटेको दिनलाई विजयोत्सवका रूपमा लिने गरिएको छ ।