
चित्रकला हुन वा मूर्तिकला नेपालका कला संस्कृति नयाँ पुस्तामाझ जीवित राख्न सक्ने माध्यम हुन् । नेपालको ऐतिहासिकतासँगै बदलिँदो सांस्कृतिक परिवर्तन देखाउने थलो पनि चित्रकला र मूर्तिकला नै हो । मठमन्दिर, टुँडालमा छरिएका कला हुन वा समुदायमा छरिएर रहेका सांस्कृतिक लोकोक्ति र संस्कारहरु नै किन नहोस्, तिनले नेपाली समाजलाई आमजनमानसमा परिचित गर्नेमात्र होइन अन्तर्राष्ट्रिय समुदायमाझ चिनिने सशक्त माध्यम पनि हो । यस्ता चित्रकला र मूर्तिकला प्रस्फुटन गर्ने कलाकारहरुको आकर्षण दिनप्रतिदिन बढिरहेकै छ । तर उनीहरुले निर्माण गरेका कलाका धरोहर जोगाउन भने मुस्किल बनेको छ । यसतर्फ सरकारको ध्यान जान सकेको छैन् । वर्षमा एक दिन विश्व कला दिवस मनाउने गरिए पनि त्यसले सार्थकता प्राप्त गर्न सकेको छैन् ।
कला र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष १५ अप्रिलमा विश्व कला दिवस मनाउने गरिन्छ । यस वर्षको दिवस मंगलबार पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । विडम्वना सदियौंदेखिका ललितकला विधाका स्रष्टाहरूबारे अध्ययन अनुसन्धान भने हुन सकेको छैन् । जसका कारण कला संस्कृति नै हराउँदै जान थालेका छन् । यो अत्यन्त दुःखको कुरा हो । नेपालमा कला क्षेत्रमा लाग्नेहरुले आफ्नै मेहनतले जति सकिन्छ टिक्ने, नसके पलायन हुनुपर्ने बाध्यता छ । यतिसम्म कि कलाकारका बारेमा कसैले जान्न खोजे, कति मूर्तिकार र चित्रकारहरु नेपालमा छन् भन्ने बारेमा सरकारसँग तथ्यांक समेत छैन । ऐतिहासिक कला र ति कलाकारहरुको संरक्षण गर्ने दायित्व सरकारको हो । यो दायित्वबाट सरकार पछाडी हट्न मिल्दैन । सरकारले ध्यान दिनुपर्छ । कलाकृति संरक्षणका लागि सरकारले दीर्घकालिन योजना बनाएर अगाडि बढ्न आवश्यक छ । यसो भने मात्र नेपालका कला, संस्कृतिका संरक्षण गर्न सकिन्छ । अन्यथा यी कलाहरु इतिहासका कथा मात्र बन्ने छन् ।