
रूपन्देही, रूपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका–१२ स्थित आमा गाउँमा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । मंगलबार राति भएको उक्त आगलागीले स्थानीय सुदामा चाईको गोठलाई पूर्णरूपमा क्षति पुर्याएको हो ।
गोठमा अचानक आगो लागेको देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । आगो फैलँदै जाँदा गोठभित्र राखिएका खाध्यन्न, लत्ताकपडा, घरायसी सामान, पशुचौपायाको गोठ, पराल तथा अन्य सामग्री जलेर नष्ट भएका छन् ।
प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा ल्याउन सफल भएको थियो। दमकल नभएको क्षेत्र भएकाले स्थानीयको सक्रियताले मात्र आगलागीलाई थप फैलिनबाट जोगाएको बताइएको छ । “समयमै जानकारी पाएपछि स्थानीयवासीको सहयोगमा हामीले आगो नियन्त्रणमा ल्यायौं,“ इलाका प्रहरी कार्यालयका एक प्रहरी जवानले भने, ‘तर गोठमा रहेका अधिकांश सामान जलेर नष्ट भइसकेका थिए ।’
सुदामा चाईको परिवारले गोठमा रहेका खाद्य सामग्री, भाँडाकुँडा, पराल, ओढ्न ओछ्याउने सामान, केही नगदसहित गोठकै संरचनामा ठूलो क्षति पुगेको बताएको छ । प्रारम्भिक अनुमानअनुसार करिब १ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । हाल प्रहरीले घटनास्थलको स्थलगत अनुगमन गरी थप अनुसन्धान गरिरहेको छ । यस्तै घटनाबाट भविष्यमा क्षति कम गर्न स्थानीय तह र सरोकारवाला निकायहरूले सचेतना कार्यक्रम तथा पूर्वतयारी योजनामा ध्यान दिनुपर्ने आवश्यक देखिएको छ ।