Shittalpati
भैरवनाथ मन्दिरमा पार्किङ्ग स्थल सञ्चालन

पाल्पा, पश्चिम नेपालको प्रमुख धार्मिक एवं पर्यटकीय स्थल पाल्पाको भैरवनाथ मन्दिरमा पार्कि·को समस्या समाधान गर्न एकीकृत सुविधा सम्पन्न पार्किङ्ग स्थल निर्माण गरी वैशाख १ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ ।

उक्त पार्किङ्ग स्थलमा एकैपटक १०० वटा साना गाडी, २० देखि ३० वटासम्म ठूला सवारीसाधन र ५ वटा मोटरसाइकल अट्न सक्ने व्यवस्था गरिएको छ । भक्तजन, पर्यटक, पैदलयात्री र मन्दिर क्षेत्रमा व्यापार व्यवसाय गर्ने सबैका लागि सहज पहुँच हुनेगरी पार्कि·को संरचना तयार पारिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीका अनुसार विगतमा व्यवस्थित पार्किङ्गको अभावले मुख्य सडक नै सवारीसाधनले भरिँदा जाम लाग्ने, पूजा गर्न ढिलाइ हुने र पैदल यात्रुहरूलाई असहज हुने समस्या भइरहेकाले पार्कि· स्थल निर्माण गरिएको हो ।

पार्किङ्ग व्यवस्थापनका लागि गाउँपालिकाले ११ वर्षका लागि करिब १२ रोपनी क्षेत्रफलको जग्गा लिजमा लिएको छ । निर्माण कार्य भैरव बिल्डर्स एण्ड म्यानेजमेन्ट कम्पनीलाई दिइएको हो, जससँग फागुन २९ गते भ्याटसहित दुई लाख ४३ हजार ८८५ रुपैयाँको लागतमा सम्झौता गरिएको थियो । सम्झौताअनुसार ठेक्का रकम प्रत्येक दुई वर्षमा १० प्रतिशतले वृद्धि गरिने व्यवस्था गरिएको छ । पार्किङ्ग शुल्क निर्धारण तथा नियमन गाउँपालिकाले गर्नेछ भने सञ्चालन र व्यवस्थापनको जिम्मा निर्माण कम्पनीले लिनेछ । गाउँपालिका योजना शाखाका अधिकृत पुरन कार्कीका अनुसार यस्तो साझेदारी प्रणालीले दीर्घकालीन र व्यवस्थित सेवा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।

मन्दिर व्यवस्थापन समिति, स्थानीय व्यापारी र सर्वसाधारणले पार्किङ्ग स्थलको सञ्चालनपछि मन्दिर क्षेत्र वरपरको भिडभाड र दुर्घटना जोखिम कम हुने, बजार व्यवस्थापनमा सुधार आउने र धार्मिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update