पाल्पा, जिल्लाको रामपुरमा व्यक्तिगत घटना दर्ता सम्बन्धी सचेतना कार्यक्रम भएको छ । नेपाल सरकारको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत रामपुर नगरपालिकाले जडा नं. ९ मा व्यक्तिगत घटना दर्ता सम्बन्धी सचेतना कार्यक्रम गरेको हो ।
राज्यको नीति तथा विभिन्न कार्यक्रम तय गर्नका लागि व्यक्तिगत घटना दर्ता महत्वपूर्ण रहेकाले साचेतना कार्यक्रम गरिएको रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितले बताए । व्यक्तिगत घटना दर्ता अनिवार्य गर्नु पर्ने भन्दै उनले कानुनी प्रावधान अनुसार समयमै गर्न आवश्यक रहेको औँलयाए । अधिकृत पण्डितले सानो लापरवाही र अभिभावकको वेवास्ताले बालबालिकाको भविष्यमा समेत असर पुग्न सक्ने भएकाले घटना दर्ता गर्दा सचेत हुनु पर्ने बताए । कार्यक्रममा ९ का वडा अध्यक्ष डिलबहादुर रानाले व्यक्तिगत घटना दर्ता समयमै गर्नु पर्ने भन्दै यसले वडाले सञ्चालन गर्ने वार्षिक कार्यक्रम प्रभावकारी हुने उल्लेख गरे ।
साथै व्यक्तिगत घटना दर्ता सप्ताहले घटना दर्ताका लागि सहज रुपमा कार्यान्वयन गर्न सजिलो हुने उनले विश्वास व्यक्त गरे । वडा सचिव मदन पराजुलीले घटना दर्ता गर्दा विभिन्न त्रुटि हुने भन्दै सम्मयमित भएर समयमै घटना दर्ता गराउनु पर्ने बताए । यस्तै जनशान्ती माध्यमिक विद्यालय रामपुरका प्राधानाध्यापक ढकबहादुर सिंजालीले अविभावकविहिन बालबालिकाको जन्मदर्ता नहुँदा विद्यालयमा भर्ना गर्न समेत असहज भएको भन्दै यस्ता समस्या समाधान गर्न आवश्यक रहेको बताए । कार्यक्रममा रामपुर नगरपालिका पञ्जिकरण शाखाका प्रमुख प्रतिमा घिमिरेले विभिन्न व्यक्तिगत घटना दर्ता गर्न छुटेमा राज्यले प्रदान गर्ने विभिन्न सेवा सुविधाबाट वञ्चित हुने भएकाले जन्मदर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद, बसाई सराई र मृत्यु दर्ता ३५ दिन भित्रै गर्नु पर्ने बताए । कार्यक्रममा वडा नं.९ का विभिन्न टोल विकास संस्था, विद्यालयका शिक्षक, स्वयमसेविका लगायतको सहभागिता रहेको योजना शाखा प्रमुख विक्रम बस्नेतले जानकारी गराए ।
नेपाल सरकारले हरेक वर्ष बैशाख १ गते देखि ७ गते सम्म व्यक्तिगत घटना दर्ता सप्ताह कार्यक्रम गर्दै आएको छ । सरकारले सन् २०२४ अर्थात वि.स. २०८० सम्ममा जन्म दर्ता शत प्रतिशत पु¥याउने र अन्य व्यक्तिगत घटना दर्तामा उल्लेख्य रूपमा वृद्धि गर्ने अन्तर्राष्ट्रिय प्रतिवद्धता जनाइसकेको छ । यसलाई कार्यान्वयनमा ल्याउनका लागि भए पनि व्यक्तिगत घटना दर्तालाई नागरिकको कर्तव्यको रूपमा स्थापित गराउँदै घटना दर्तालाई व्यापक रुपमा विस्तार गर्ने सरकारको उद्देश्य रहेको छ ।