Shittalpati
शिक्षक आन्दोलन : सामुदायिक विद्यालयको भर्ना प्रभावित, निजीमा धमाधम भर्ना

पाल्पा, शिक्षक आन्दोलनका कारण पाल्पासहित देशभैभरका सामुदायिक विद्यालयमा भर्ना अभियान प्रभावित बनेको छ । सरकारले सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने गरी नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु गरे पनि शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा सहभागी हुँदा भर्ना अभियान नै प्रभावित बनेको हो ।

पञ्चायती व्यवस्थाको शिक्षा ऐनले मुलुकको शिक्षा धान्न नसक्ने भन्दै देशको बदलिँदो परिस्थितिअनुसार समयानुकूल शिक्षा ऐन जारी गर्नुपर्ने एक सूत्रीय माग राखेर शिक्षकहरू विगत १७ दिनदेखि आन्दोलनमा छन् । नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियनको तयारीमा जुट्नुपर्ने शिक्षकहरु विद्यालय छाडेर आन्दोलनमा उत्रिदा वार्षिक परीक्षाको नतिजासँगै भर्ना अभियान अगाडि बढ्न सकेको छैन् । अर्कोतर्फ एसइई नतिजा प्रकाशनको तालिका समेत प्रभावित हुने सम्भावना देखिएको छ । आगामी असार पहिलो साता नतिजा प्रकाशन गर्ने भनिए पनि अनिश्चितकालिन शैक्षिक हड्तालका कारण एसइई नतिजा पनि प्रभावित हुने देखिएको हो । शिक्षकहरू आन्दोलनमा रहेकाले अहिलेसम्म उत्तरपुस्तिक परीक्षण सुरु हुन सकेको छैन् । आन्दोलनको कारण वैशाख ११ गतेबाट शुरू हुने कक्षा १२ को परीक्षा बिथोलिन सक्ने आशंका समेत बढेको छ ।

अहिलेसम्म नतिजा प्रकाशन हुन नसकेको र भर्ना हुनबाट बालबालिकाहरु बञ्चित हुने भन्दै अभिभावकहरु समेत चिन्तित बनेका छन् । सरकारले भर्ना अभियान सुरु गरे पनि अहिलेसम्म बालबालिकाहरुको नतिजा नआउँदा चिन्ता लागेको तानसेन कैलाशनगरका मनोज अधिकारीले बताए । उनले भने “शिक्षकहरु आन्दोलनमा छन्, कहिले रिजल्ट निकाल्ने हुन्, कहिले भर्ना खुल्ने हो ? हाम्रा बालबालिकाहरुको भविष्य नै अन्यौलमा हुने भयो ।” 

तानसेनकै मीना थापाले आफ्नो बच्चा पढाइरहेको स्कुलमा पुग्दा शिक्षकहरूले शैक्षिक हड्ताल भएकाले रिजल्ट दिन नमानेको सुनाइन् । “छोराको नतिजा के भएको होला भनेर विद्यालयमा सोध्न जाँदा सरहरुले दिनुभएन , शैक्षिक हडताल छ भन्नुभयोे,” उनले भनिन्, “कहिले रिजल्ट दिने हुन र कहिले भर्ना गर्ने हो अहिलेसम्म अत्तोपत्तो छैन् बोर्डि· स्कुलमा त भर्ना समेत लिइसके, नतिजा दिए हामी निजी विद्यालयमै गएर भर्ना गथ्र्यौ ।” थापाले सधै सामुदायिक विद्यालयका शिक्षकहरुको आन्दोलनले गर्दा बालबालिकाहरुको पढाइ समेत प्रभावित बन्ने गरेको गुनासो गरिन् । उनले भनिन् “ यस्तै कारणले रहेछ निजी विद्यालयको भन्दा सामुदायिक विद्यालयको नतिजा हरेक वर्ष खस्कदो हुने ।” उनीहरु जस्तै पाल्पासहित देभैभरका सामुदायिक विद्यालयमा बालबच्चा पठाउने अभिभावकहरु चिन्तित छन् ।

निजी विद्यालयहरुले भने धमाधम रिजल्ट प्रकाशन गरेर विद्यार्थीहरु भर्ना गरिरहेका छन् । पाल्पामा सञ्चालित निजी विद्यालयहरुले अहिले धमाधम विद्यार्थी भर्ना गरिरहेका छन् । उनीहरुले समयमै नतिजा प्रकाशन गरेर भर्ना अभियानलाई तिव्रता दिएका छन् । सामुदायिक विद्यालयहरुले भर्ना नलिए पनि निजी विद्यालयहरुमा भर्ना निर्वाध रुपमा चलिरहेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पाल्पाका अध्यक्ष डाँसुराम पन्थले बताए ।

उनले भने “हामीले समयमै नतिजा प्रकाशन गरेका छौं, अहिले भर्ना कार्यक्रमसँगै पठनपाठन समेत चलिरहेको छ ।” यहाँका सबैजसो सामुदायिक विद्यालयका शिक्षकहरू आलोपालो गरेर काठमाडौँ शिक्षकको प्रदर्शनमा सहभागी हुन पुगेका छन् । नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना गर्न देशभरका स्थानीय तह र विद्यालयलाई सरकारले गरेको सर्कुलर बहिष्कार गर्दै शिक्षकहरुले भने माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाएका छन् । तत्काल शिक्षा ऐन जारी गर्न दबाब दिंदै आएका उनीहरुले सडक आन्दोलनका कार्यक्रम जारी राखेका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update