Shittalpati
राष्ट्रिय परीक्षा बोर्डले भन्यो –‘कक्षा १२ को परीक्षा सरेको छैन’ 

पाल्पा,राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको स्पष्ट पारेको छ । शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सरेको भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना आएपछि बोर्डले विज्ञप्ति नै निकालेर परीषा नसरेको बताएको हो । 

‘यही २०८२ साल वैशाख ११ गतेवाट संचालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थीवर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक सञ्जालमा संप्रेषण गरिएको प्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । 

परीक्षासम्बन्धी आधिकारिक सूचना बोर्डले आफ्नो Website: www.neb.gov.np मार्फत सार्वजनिक गर्दै आएको र आगामी दिनमा समेत सो मार्फत सूचना प्रवाह गरिने हुँदा अन्य स्रोतबाट प्रवाह हुने सूचनामा भर नपर्न  समस्त सरोकारवालाहरुमा अनुरोध समेत गरेको छ ।

भ्रामक सूचना सम्प्रेषण गर्नेलाई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने बोर्डले जनाएको छ । ‘परीक्षा जस्तो सम्वेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको हस्ताक्षर राखी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साइबर कानुन अनुसार आवश्यक कार्वाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ,’ विज्ञप्तिमा भनिएको छ । बोर्डले परीक्षाको वातवरण बनाउन प्रधानाध्यापकहरूलाई अनुरोध पनि गरेको छ । ‘परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य हुन अभिभावक, शिक्षक एवं प्रधानाध्यापकज्यूहरूमा राष्ट्रिय परीक्षा बोर्ड हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।


 

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update