
निश्चित वर्ण र मात्रामा आधारित सुर या लयलाई छन्द भनिन्छ । छन्द संस्कृतको ‘छद्’ धातुमा ‘असुन’ प्रत्यय जोडिएर बनेको हो । जसको अर्थ कस्नु, आनन्दित पार्नु, बाँध्नु हुन्छ । कवितामा रहेको वर्ण र मात्राका आधारमा कविताको लय, गति, यति, ध्वन्यात्मक आरोह अवरोह आदिको मापन गर्ने काम छन्दले गर्दछ । छन्दलाई काव्यको लयात्मक सौन्दर्य निर्माण गर्ने प्रमुख तत्वको रुपमा लिनु उपयुक्त हुन्छ । छन्दले कवितालाई पठनीय, मननीय, श्रवणीय र सम्प्रेषणीय बनाउने कार्य गर्दछ । काव्यको लयात्मक माधुर्यको निर्माण नै छन्दको महत्वपूर्ण कार्य हो । पौरतस्य साहित्यमा छन्दको प्रयोग वैदिक कालदेखि नै रहिआएको छ । वेदका श्लोकहरू छन्दोबद्ध हुनु र वेदका छ अङ्ग मध्ये एक छन्द पनि रहनुले छन्दको प्रयोग प्राचीन समय देखि नै रहिआएको व्यहोरा प्रस्टाउँछ । यद्यपी पछिल्लो समय साहित्य क्षेत्रमा छन्द लोप हुँदै गएको छ । यो अत्यन्त दुःखको कुरा हो । छन्दको संरक्षण गर्ने उद्देश्यले हरेक वर्ष नेपालमा छन्द दिवस मनाउने गरिन्छ । आज पनि विविध कार्यक्रम गरी मनाइँदै छ । दिवस मनाउने गरिए पनि औपचारिकतामै सिमित बन्न पुग्दा छन्द संकटमा परेको छ ।
कविता साहित्यमा छन्दको प्रयोग घट्दै गएपछि कवि माधव वियोगीले वि.सं. २०५३ साल बैशाख ८ गते छन्द बचाउ अभियान सुरु गरेका थिए । छन्दको प्रयोगलाई पुर्नस्थापना गर्ने प्रयत्न स्वरुप कवि वियोगीले अभियान सुरु गरेको दिनलाई नै हरेक वर्ष छन्द दिवसका रुपमा मनाउन थालिएको हो । साहित्यमा काव्य संस्कृतिको रक्षा र छन्द शैलीको उजागर गर्न यो दिवस मनाइन्छ । यो दिवस मनाउन लागेको पनि ३० वर्ष भयो । तर अहिलेसम्म छन्दको न संरक्षण भएको छ न त प्रवद्र्धन नै । पछिल्लो समय साहित्य क्षेत्रमा नयाँ–नयाँ विधाहरुको उदय भएसँगै छन्द विधा ओझेलमा पर्न थालेको छ । नेपाली साहित्यमा छन्दलाई कविता भन्दा बढी शास्त्रको दर्जा दिइए पनि यो विधा ओझेलमा पर्नु अत्यन्त दुखद् हो । छन्दको अस्तित्व अनादिकालबाट नै रहेकोले यसको वास्तविक उत्पत्ति सृष्टिकै आदिकाल भएको मानिन्छ । यसलाई धर्म संस्कृतिसँग जोडेर पनि हेर्ने गरिन्छ । त्यसैले छन्द कवितालाई सनातन वैदिक परम्पराको धरोहरको रुपमा पनि लिइन्छ । यसर्थ छन्दको आफ्नै महत्व र पहिचान रहेकाले यसको संरक्षण र प्रवद्र्धनमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।