
पाल्पा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सोमबार भट्टराईले राजीनामा बुझाएकी हुन् ।
के कारणले राजीनामा दिएको भन्ने कुरा भने खुलेको छैन् । २० दिनदेखि काठमाडौंमा जारी शिक्षक आन्दोलन र संसदीय समितिमा जारी विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफलको पृष्ठभूमिमा भट्टराईले राजीनामा दिएकी छन् ।
शिक्षकहरूको समस्या समाधान गर्दै आन्दोलन टुंग्याउनका लागि भएका वार्ता र छलफलमा प्रधानमन्त्रीले शिक्षामन्त्री भट्टराईलाई ’बाइपास’ गर्दै आएका थिए । शुक्रबार साँझ बालुवाटारमा भएको शिक्षक आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्रीबीको छलफलमा पनि शिक्षामन्त्री भट्टराई थिइनन् । शिक्षामन्त्री र प्रधानमन्त्रीबीचको चिसोपना सुरुवात भने यसअघिका घटनामै भइसकेको थियो । संसद्को शिक्षा, स्वास्थ्य समितिमा विद्यालय शिक्षा विधेयकका पेचिला दफा टुंगो लाग्न सकिरहेको छैनन् । शिक्षामन्त्रीको राजीनामाले यो प्रक्रिया नै थप पेचिलो बन्ने निश्चित छ ।