
भैरहवा (रूपन्देही), रुपन्देहीको दानव नदीमा बेपत्ता तीन बालकमध्ये एकको शव भेटिएको छ भने समाचार तयार पार्दासम्म दुई अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले १४ वर्षीय राजन यादवको शव डुबेको स्थान नजिकै फेला परेको बताए ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–२ सानो अर्दौलाका तीन बालक साथीसँगै गाउँ नजिकैको दानव खोलामा पौडी खेल्न गएका थिए । बगहा बाबा मन्दिर नजिकै नुहाउने क्रममा तीनै जना नदीको गहिरो भागमा पुगेको प्रत्यक्षदर्शी एक बालकले जानकारी दिएको वडाध्यक्ष ईनामुल्ला फकिरले जानकारी दिए ।
मृत अवस्थामा भेटिएका बालकको मूल घर त्यही भए पनि उनी बुबाआमासहित रूपन्देहीकै सैनामैना बस्थे । हाल विद्यालय बिदा रहेकाले उनी दुई दिनअघि मात्रै मूल घर आएका थिए । बेपत्ता बालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।
आज दिउँसो लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलामा रहेको दानव नदीमा पौडी खेल्ने क्रममा सोही वडामा बस्ने १३ वर्षीय उमेश यादव, १४ वर्षीय राजन यादव र १२ वर्षीय मन्नु हरिजन बेपत्ता भएका थिए ।