
पाल्पा, शिक्षक आन्दोलनका कारण वैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा हुने नहुने अन्यौलमा रहेका बेला सरकारले भने जसरी भए पनि परीक्षा सञ्चालन गर्ने गरी तयारी अगाडि बढाएको छ । सरकारले निजामती कर्मचारी खटाएरै भए पनि परीक्षा सञ्चालन गर्ने तायारी गरेको हो ।
प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिलाई जिम्मेवारी दिएर परीक्षा सञ्चालन गर्ने तयारी सरकारको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बिहान बसेको बैठकले आगामी वैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा निजामती कर्मचारी खटाएर भए पनि सञ्चालन गर्ने निर्णय समेत गरेको छ । बोर्डको बैठकले पूर्वनिर्धारित समयमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
शिक्षक सहभागी नभए निजामति कर्मचारी परिचालन गरेरै भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । परीक्षाको समय फेरबदल गर्दा विद्यार्थीको परीक्षाको तयारीमा असर पर्ने तथा समय खेर जाने भएकाले परीक्षा नरोक्ने उनले बताए । प्रमुख जिल्ला अधिकारीले प्रत्येक परीक्षा केन्द्रमा जिल्लास्थित निजामति कर्मचारीलाई परिचालन गरेर निर्धारित समयमै परीक्षा सञ्चालन गर्ने बोर्डले निर्णय गरेको छ ।
आन्दोलनमा सहभागी नभएका शिक्षकलाई परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष बनाउने र त्यस्तो अवस्था नभएका केन्द्रमा प्रमुख जिल्ला अधिकारीले नै निर्णय गरेर व्यवस्थापन गर्ने गरी परीक्षा सञ्चालन गरिने भएको छ । यसवर्ष कक्षा १२ को परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी हुनेछन् । परीक्षाका लागि जापानमा एउटासहित एक हजार ५९१ परीक्षा केन्द्रको व्यवस्था गरिएको छ ।