
काठमाडौँ, विश्वकप विजेता ब्राजिली फुटबलका लिजेन्डरी खेलाडी रोबर्टो कार्लोसलाई नेपालमा भव्य स्वागत गरिएको छ । मंगलबार नेपाल आएका उनलाई विमानस्थलमै तामझामसहित स्वागत गरिएको हो ।
अहिले चलिरहेको नेपाल सुपर लिग (एनएसएल) को मौका छोपेर उनी केहीबेर अघि काठमाडौं विमानस्थलमा उत्रिएका हुन् । एनसेल एनएसएलको आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले दिएको जानकारी अनुसार उनले बुधबार हुने धनगढी एफसी र पोखरा थन्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्ने छन् ।
यसअघि गत शुक्रबार नेपाल आउने तालिका रहे पनि स्वास्थ्य अवस्थाका उनको भ्रमण स्थगित भएको थियो । कार्लोसलाई विश्वकै उत्कृष्ट रक्षकमध्ये एक मानिन्छ । ५१ वर्षीय कार्लोसले सन् १९९२ देखि २००६ सम्म ब्रजिलका लागि खेलेका थिए । उनीले सन् २००२ को फिफा विश्वकप जिताउन योगदान गरेका थिए । फुटबलका ग्लोबल आइकन रोबर्टो कार्लोस आफ्नो शक्तिशाली फ्रिकिक, गति र मैदानमा अतुलनीय ऊर्जाका लागि परिचित छन् । स्पेनिश क्लब रियाल मड्रिड र ब्राजिलियन राष्ट्रिय टोलीका पूर्व खेलाडीसमेत रहिसकेका कार्लोस फुटबल इतिहासका सबैभन्दा प्रशंसित डिफेन्डरहरू मध्ये एक हुन् ।
फिफा विश्वकप र चार ला लिगा उपाधिहरू सहित दुई दशकभन्दा लामो व्यावसायिक फुटबल खेलमा उनले विश्वभरका लाखौं फुटबल प्रेमीहरूलाई प्रेरित गरेका छन् ।