Shittalpati
पाल्पामा विद्यालय खोल्न भन्दै अभिभावक आन्दोलनमा (हेर्नुहोस् भिडियोसहित)

पाल्पा, पाल्पामा विद्यालय खोल्न भन्दै अभिभावकहरु आन्दोलनमा उत्रिएका छन् । विद्यालय बन्द गरेर ३ हप्तादेखि शिक्षकहरु काठमाडौं आन्दोलनमा रहेका बेला यता अभिभावकहरु भने विद्यालयमै पुगेर पठनपाठन गराउन भन्दै आन्दोलन गरेका छन् ।

लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीहरुको भविष्य नै अन्धकार हुने भन्दै जिल्लाको माथागढी गाउँपालिका – १ चिदीपानीस्थित ज्ञानोदय आधारभूत विद्यालयका अभिभावकहरुले सोमबार विद्यालयमै पुगेर विद्यालय व्यवस्थापन समितिलाई विद्यालय खोल्न दवाब दिएका छन् । उनीहरुले विद्यार्थीहरुको भविष्य सुनिश्चित गर, निरन्तर विद्यालय सञ्चालन गर, अभिभावक एकता जिन्दावाद, सक्छौं भने निजी विद्यालय बन्द गर भन्दै आन्दोलन गरेका हुन् । शिक्षकहरुका कारण विद्यार्थीहरुको भविष्य विग्रीने पिर आफुहरुलाई रहेकाले अभिभावकहरु एक जुट भएर आन्दोलनमा उत्रिएको उनीहरुको भनाई छ । आन्दोलनपछि आजदेखि नै विद्यालयमा पठनपाठन सुरु भएको छ ।

विद्यार्थीहरुप्रति व्यवस्थापन समिति उत्तिकै चिन्तित रहेको र अभिभावकले समेत विद्यालय खोल्न दवाब दिएपछि आजदेखि नियमित रुपमा पठनपाठ सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पन्थीले बताए । उनले भने “हामीले सोमबार नै अभिभावक, विद्यार्थी र शिक्षकहरु बोलाएर विद्यालय खोल्ने नखोल्ने विषयमा छलफल गरेका थियौं, खोल्ने विषयमा निर्णय भइसकेको थिएन तर आज विहानै अभिभावक विद्यार्थीसहित आएर विद्यालय खोल्ने भए खोल्नु नत्र हामी बोर्डिङ स्कूलमा लैजान्छौं, विद्यालय खोल्नुहोस् हामी तपाईहरुकै साथमा छौैं भन्दै आन्दोलन गरेपछि हामीले विद्यालय खोल्ने निर्णय गरेका हौं ।”

अभिभावकहरु ताराबहादुर विश्वकर्मा, लिला कुमारी विक, सुनिता विक लगायतले शिक्षकहरुको आन्दोलनले आफ्ना बच्चाहरुको पठाइ विग्रीएकाले शान्तिपूर्ण आन्दोलनमा उत्रिनु परेको बताएका छन् । विद्यार्थीहरु कुसुम परियार, दिवस बगालेले भर्ना भएर पढ्नुपर्ने बेलामा अहिले सम्म पनि विद्यालय नखुल्दा आफुहरु समस्यामा रहेको बताए । उनीहरुले आफुसँगैका धेरै साथीहरु बोर्डिङ्ग स्कूलमा गए तर आफुहरुको आर्थिक अवस्थाका कारण उता जान नसके गुनासो गरे । वडा भित्रका अन्य विद्यालयहरुमा पनि पठन–पाठन सुरु भएको वडा अध्यक्ष समेत रहेका पन्थीले बताए । शिक्षकहरुको आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयहरु बन्द हुँदा लाखौं विद्यार्थीहरुको पढाई प्रभावित भएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update