Shittalpati
प्रधानमन्त्री ओलीले शिक्षामन्त्री भित्र्याए, सिचाँइ राज्यमन्त्री हटाए

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्री भित्र्याएका छन् भने ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीलाई हटाएका छन् । उनले बुधबार एकै दिन एक मन्त्रीको नियुक्ती र एक मन्त्रीको बर्खास्त गरेका हुन् ।

प्रधानमन्त्री ओलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा एमाले सांसद रघुजी पन्तलाई नियुक्त गरेका छन् । ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् ।

संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीले गरेको सिफारिस बमोजिम राष्ट्रपति पौडेलले पन्तलाई नियुक्त गरेको जनाइएको छ । शिक्षामन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा पन्तलाई नियुक्त गरिएको हो । नवनियुक्त मन्त्री पन्तको बिहीबार अपराह्न ४ बजे पद तथा गोपनियताको शपथग्रहण कार्यक्रम हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

बुधबार नै प्रधानमन्त्री ओलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङलाई बर्खास्त गरेका हुुन् । आफूविरुद्ध अभिव्यक्ति दिएको भन्दै ओलीले राज्यमन्त्री तामाङलाई बर्खास्त गरेका छन् । यसअघि नै राजीनामा मागेका ओलीले राज्यमन्त्रीले राजीनामा नदिएपछि बर्खास्त गरेको स्रोतले जनाएको छ  ।

तामाङले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउन नहुने अडान राख्दै आएका थिए । उनलाई कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्याण्ड रहेका बेलामा ओलीले तामाङलाई हटाएका हुन् । तामाङलाई मन्त्रीबाट हटाए पनि उनको स्थान अहिले कसैले लिएको छैन । पार्टीले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । तामाङ रामेछापबाट निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update