
पाल्पा, पाल्पाली साहित्यकार तथा समीक्षक पुष्कर अथक रेग्मी काठमाडौंमा सम्मानित भएका छन् । राष्ट्रिय सुसेली फाउण्डेसनले आफ्नो सातौ वार्षिक दिवसको अवसरमा रेग्मीलाई समीक्षाको माध्यमद्वारा सुसेलीको व्यापिकरणमा पुर्याएको योगदानको कदर गर्दै समीक्षकको रूपमा सम्मान गरेको हो ।
फाउण्डेसनले रेग्मीलाई ‘चन्द्रा कमला शिवहरि वाग्ले सुसेली पुरस्कार’ बाट सम्मान गरिएको जनाएको छ । उनलाई प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा.डा.जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’, राष्ट्रिय सुसेली फाउण्डेसनका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे र दाता साहित्यकार चन्द्रा न्यौपाने लगायतले दोसल्ला, प्रमाणपत्रले सम्मान गरेका हुन् ।
सम्मानित रेग्मी पाल्पा साहित्य समाज, शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष र शीत काव्य समाज नेपालका परिकल्पनाकार समेत हुन । उनी पाल्पामा बसी साहित्यिक अभियानहरू सञ्चालन गर्दै आएका छन् । दुई दर्जनभन्दा बढी कृति प्रकाशित गरिसकेका अथकले परेवा पाक्षिक र नवजनचेतना राष्ट्रिय दैनिकमा समीक्षा लेख्दै आएका छन् ।
फाउन्डेसनले रेग्मीसहित विभिन्न विधाका पन्ध्र जना स्रष्टाहरूलाई समेत सम्मान गरेको छ । जहाँ जन्मभूमि सुसेली सम्मानबाट वरिष्ठ कवि श्री ठाकुर शर्मा भण्डारी, डा. शेष–चन्द्रा न्यौपाने सुसेली सम्मानबाट वरिष्ठ कवि डा. श्री यज्ञश्वर निरौला, राम–सुशीला सुसेली सम्मानबाट वरिष्ठ कवि प्राज्ञ डा.देवी नेपाल, सुचिता–ऋतु सुसेली सम्मानबाट वरिष्ठ साहित्यकार प्रा.डा.जगतप्रसाद उपाध्याय ’प्रेक्षित’, केशव–विमला सुसेली सम्मानबाट वरिष्ठ कवि श्री वेदमणि घिमिरे, कमला देवकोटा सुसेली सम्मानबाट वरिष्ठ कवि प्राज्ञ डा. हेम पौडेल, बम-जानुका सुसेली सम्मानबाट वरिष्ठ कथाकार प्राज्ञ माया ठकुरी, मुरली–सरस्वती सुसेली सम्मानबाट वरिष्ठ साहित्यकार प्रा.डा.रामप्रसाद ज्ञवाली, कृष्ण–गुनु सुसेली सम्मानबाट कविन्द्र श्री कलानिधि दाहाल सम्मानि भएका हुन् । यस्तै गंगा सुसेली सम्मानबाट महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने, गंगा सुसेली सम्मानबाट समीक्षक श्री अरुण नदी खत्री, चन्द्रा–कमला–शिवहरि वाग्ले सुसेली सम्मानबाट, वरिष्ठ साहित्यकार एवम् पत्रकार छविरमण सिलवाल, राष्ट्रिय सुसेली फाउन्डेसन सम्मानबाट प्रकाशक, साहित्यकार एव मिडियाकर्मी दामोदर ढकाल ‘दीपक’ र राष्ट्रिय सुसेली फाउन्डेसन सम्मानबाट साहित्यकार एवम् टेलिभिज कार्यक्रम प्रस्तोता सुशीला ढकाल अधिकारी पनि सम्मानि भएको फाउन्डेसनले जनाएको छ ।