Shittalpati
पाल्पामा औलोको जोखिम बढ्दो

पाल्पा, पाल्पामा आयातीत औलोबाट संक्रमित हुने विरामीको संख्या वर्षेनी बढ्दै गएको छ । कामको खोजीमा छिमेकी मुलुक भारत जाने नेपालीहरुमा औलो देखिने क्रम बढेसँगै आयातीत औलोबाट संक्रमित विरामीको संख्या बढ्दै गएको हो ।

यहाँका स्थानीय तहहरुमा आयातीत औलोबाट संक्रमित विरामीहरुको संख्या बढ्दै गएपछि पाल्पा पनि औलोको जोखिममा रहेको छ । जिल्लामा चालु आर्थिक वर्षको नौं महिनामा नौं जना औलोका बिरामी पुष्टि भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका औलो रोग कार्यक्रमका फोकल पर्सन तथा वरिष्ठ ल्याव टेक्निसियन निरीक्षक मधुसूधन भट्टराईका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा नौ जनामा औलो संक्रमण पुष्टि भएको छ । यहाँका ६ स्थानीय तहमा औलोका विरामी फेला परेको उनले बताए । माथागढी गाउँपालिकामा तीन जना, बगनासकाली गाउँपालिकामा दुई, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रामपुर नगरपालिका, तानसेन नगरपालिकाका एक/एक जनामा औलो पुष्टि भएको फोकल पर्सन भट्टराईले जानकारी दिए । उनका अनुसार नौं जनानै आयातीत केसहरु हुन् । कामको खोजीमा छिमेकी मुलुक भारत जाने नेपालीहरुमा औलो देखिने क्रम बढेसँगै आयातीत औलोबाट संक्रमित विरामीको संख्या पनि बढ्दै गएको हो ।

विशेष गरी महाराष्ट्र, दिल्ली, गुजरादबाट आएकामा देखिएको भट्टराईले बताए । जिल्लामा हरेक वर्ष औंलो संक्रमित विरामी भेटिने गरेका छन् । यहाँको पछिल्लो ६ वर्षको तथ्याङ्कलाई हेर्ने हो भने पनि जिल्लामा २५ जनामा औलो पुष्टि भएको छ । जसमा आर्थिक वर्ष २०७६/०७७ मा दुई जना, २०७७/०७८ मा एक जना, २०७८/०७९ मा एक जना, २०७९/०८० मा पाँच जना, २०८०/०८१ मा सात जना र चालु आर्थिक वर्षको हालसम्म नौं जना विरामीमा औलो फेला परेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । २५ जना मध्ये २४ जना आयातीत औलोबाट संक्रमित विरामी हुन् । गत वर्ष पूर्वखोला गाउँपालिकामा एक जना स्थानीय औलोबाट संक्रमित भेटिएका थिए । अरु सबै भारतबाट आउनेहरुमा देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । विशेषगरी खुला सिमानाका कारण दैनिक भारत आवात–जावात गर्नेहरू औलो संक्रमित भई नेपाल आउने र उनीहरूबाट अरूमा संक्रमण फैलिने जोखिम बढेको औलो रोग कार्यक्रमका फोकल पर्सन भट्टराईले बताए । नेपालमा सन् २०२५ सम्म औलो रोग निवारण गर्ने सरकारी लक्ष्य तोकिएको भए पनि स्थानीय र आयातीत औलोका कारण पूरा हुन मुश्किल देखिएको छ । जिल्लामै बसोबास गर्ने भन्दा बाहिरबाट फर्केका मानिससँगै आउने आयातित औलोबाट संक्रमितहुने बिरामीको संख्या बढी छ ।

यसले सरकारको लक्ष्य प्राप्तिमा चुनौती थपेको हो । पाल्पामा स्थानीय मलेरियाका विरामीदेखिनु, आयातीत औलोका विरामीहरु बढ्दै जानु, कीटनाशकयुक्त झूल तथा विषादी माग अनुसार व्यवस्थापनमा कठिनाई, आर्थिक स्रोतको अभाव, स्थानीय तहमा औलो सम्बन्धी तालिम प्राप्त स्वास्थ्यकर्मी तथा इन्टोमोलोजिष्टहरुको अभाव, मलेरिया टेस्टकिट आवश्यकता अनुसार प्राप्त नहुनु जस्ता कुराहरुले औलो निवारणमा थप चूनौति रहेको सम्बन्धित स्वास्थ्यकर्मीहरु बताउँछन् । औलो रोगबाट विशेष गरी गर्भवती महिला तथा पाँच वर्षमुनिका बालबालिका बढी जोखिममा हुन्छन् । संक्रमितलाई स्वास्थ्य कार्यालयले विशेष निगरानी बढाएको स्वास्थ्य कार्यालयका प्रमुख टुकप्रसाद पोखरेलले बताए । 

उनका अनुसार सरकारी स्वास्थ्य संस्थाहरुमा औलोको परीक्षण तथा उपचार निःशुल्क उपलब्ध हुँदै आएको छ । स्वास्थ्य कार्यालय पाल्पाले औलो निवारणका लागि औंलो विरामीहरुको आधारमा जोखिम क्षेत्रमा सक्रिय खोजपड्ताल, सिमा नाका तथा समुदायमा शंकास्पद विरामीको रक्त परीक्षण तथा रोग बारे सचेतना, जोखिमयुक्त क्षेत्रहरुमा झुल वितरण तथा किटनाशक विषादी छिड्काउ जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । एनोफिलिज नामको पोथी लामखुट्टेले संंक्रमित व्यक्तिलाई टोकेर स्वस्थ व्यक्तिलाई टोकेमा औलो सर्छ । 

औलो संक्रमण भएपछि दिन बिराएर या दैनिक काम ज्वरो आउने, पसिना आउने, वान्ता आउने, कडा टाउको दुख्ने जस्ता लक्षण देखिन्छ । यसको समयमै उपचार नभएमा बिरामीको मृत्युसमेत हुन्छ । २० वर्ष पहिला बर्सेनि हजारौंको संख्यामा नेपालमा औलोको कारणले मृत्यु हुन्थ्यो भने पछिल्लो समय मृत्यु हुने क्रम कम भइसकेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update