
विश्व बौद्धिक सम्पत्ति संगठन अस्तित्वमा आएको दिनको सम्झनामा हरेक वर्षको अप्रिल २६ लाई विश्व बौद्धिक सम्पत्ति दिवसका रूपमा मनाइँदै आएको छ । यस वर्ष पनि आज विश्वभर विविध कार्यक्रमहरुको आयोजना गरी दिवस मनाइँदै छ । बौद्धिक सम्पत्ति मानिसको आफ्नो सीप, क्षमता र दक्षताको प्रयोग गरी तयार गरेको सिर्जनात्मक कार्य हो । जसको माध्यमबाट भौतिक संरचना वा वस्तु निर्माण हुन्छ भने उक्त वस्तु वा संरचना माथिको सर्जकको अधिकार बौद्धिक सम्पत्तिको अधिकार हो । तर पछिल्लो समय वौद्धिक सम्पत्ति चोरीको क्रम बढ्दै गएको छ । यो अत्यन्तै दुःखको कुरा हो ।
शिक्षा क्षेत्रको शोधपत्र चोरीदेखि संगित क्षेत्रका शब्द संगीतको चोरीका घटनाहरु बढ्दै गएका छन् । आफ्नो बुद्धिविवेक प्रयोग गरी सिर्जना गरेका कुरा नै बौद्धिक सम्पत्ति हुन् । मानिसलाई भौतिक सम्पत्ति स्वामित्वको अधिकार भएजस्तै आफूले सिर्जना र रचना गरेका सामग्रीमा स्वामित्वको हकदावी गर्नेे अधिकार कानुनले दिएको छ । प्रतिलिपि अधिकार ऐन र प्रतिलिपि अधिकार नियमावलीमा साहित्य, कला, ज्ञान–विज्ञान र मौलिक एवं बौद्धिक रूपले प्रस्तुत गरिएका रचनामा रचयिताको हक लाग्ने जनाइएको छ । तर त्यो उचित कार्यान्वयन हुन सकिरहेको छैन । नेपालमा बौद्धिक सम्पत्तिसम्बन्धी कानुन फितलो भएको हुँदा चोरीचकारी अत्यधिक छ । जहाँ बौद्धिक सम्पत्तिको सुरक्षा हुँदैन, त्यहाँ वैदेशिक लगानीकर्ता पनि आकर्षित हुँदैनन् । जबकि बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको नेपाल पनि पक्षराष्ट्र हो । तै पनि हामीले बलियो कानुन बनाउन सकेका छैनौं । कतिले नजानेर र कतिले जानीजानी उद्योगधन्दाका ट्रेडमार्कहरूको नक्कल वा चोरी गरिरहेका हुन्छन् । यसमा सचेतना वृद्धिको अभाव पनि एउटा कारण देखिन्छ । अर्काेतिर बौद्धिक सम्पत्ति चोरीमा दण्ड सजाय पनि वृद्धि गर्नुपर्ने खाँचो छ । नेपालको संविधानको धारा २५ मा सम्पत्तिको हकको व्यवस्था छ । यो मौलिक अधिकार पनि हो । ट्रेडमार्क, पेटेन्ट र डिजाइन भनेका सम्पत्ति हुन् । तिनको हक जसलाई छ, उसकोबाट कसैले छिन्न हुँदैन र छिन्न नदिने वा संरक्षण गर्ने दायित्व राज्यकै हुन्छ । जसका लागि तत्काललाई बलियो र प्रस्ट कानुनको निर्माण गरि बौद्धिक सम्पत्ति संरक्षणमा ध्यान दिन जरुरी छ ।