Shittalpati
काव्यमा ‘तीर्थाटन’

‘तीर्थाटन’ काव्य सङ्ग्रहका लेखक स्व. लोकनाथ उपाध्याय रेग्मीको नाति एवं सुदन प्रकाश रेग्मीको भाञ्जा चोलाकान्त पौडेलसँग मेरो सान्निध्यता अभिभावकीय मित्रको रूपमा चार दशक अघि देखि नै रहँदै आएको छ । यसैले पनि होला चोलाकान्त पौडेल, उनकी धर्मपत्नी एवं शीत काव्य समाज नेपाल पाल्पाकी अध्यक्ष कवयित्री इन्दिरा ज्ञवाली पौडेल र सुदन प्रकाश रेग्मीबिच भएका कुराकानी र सहमति पश्चात सुदनजीसँग मेरो भेटघाट भयो ।

 

कुराकानीको क्रममै उनले आफ्नो बुवाद्वारा लिखित तीनवटा पाण्डुलिपि दिदैं, “बुवाद्वारा लिखित कविताहरूका साथै धेरै कुराहरू छन् यसभित्र, यदि छाप्न योग्य छन् भने प्रक्रिया अगाडि बढाइदिनुहोला” भनी अनुरोध गरेसँगै मैले पनि पाण्डुलिपि हातमा लिइ सरसर्ति हेरी, आफ्नो व्यस्त समयको बावजूद पनि हजुरबुवा समानको देवतुल्य स्वर्गीय पितृको आशिक लाग्ने महसुस भएकोले काव्यहरू सम्पादित सहित प्रकाशन प्रक्रियामा सहयोग पुर्‍याउन बचनवद्ध भएँ । प्राप्त भएका तीनवटा हस्तलिखित सामग्रीहरूमध्ये पहिलो करीब १५० पृष्ठको लामो रजिष्टार आकारको कापीमा लेखिएको काव्यहरूको पाण्डुलिपि थियो । दोस्रो नयाँ नोटबुक कापीको केही पृष्ठहरूमा पुरानै काव्यहरू सारिएका थिए । तेस्रो पुरानो नोट बुक कापी थियो र जसभित्र थोरै पृष्ठ मन केही फुटकर कविता र भावनाहरू तथा बाँकी पृष्ठहरूमा घर व्यवहार र अन्य समसामयिक कुराहरूको टिपोट थियो । तीनवटै सामग्रीको अध्ययन पश्चात् मैले काव्यहरूको सङ्ग्रह रहेको पहिलो पाण्डुलिपिलाई आधार लिए यद्यपि यो अति नै जिर्ण र झुत्रो परेको थियो । कतिपय पृष्ठहरू च्यात्तिएका, कतिपय शव्दहरूमा अक्षरका अंशहरू नभएका र कतिपय शव्दाक्षर नबुझिने अवस्थामा समेत रहेका थिए । जे–जस्तो भएता पनि प्रातः स्मरणीय पिताजी स्व. लोकनाथ उपाध्याय रेग्मीले जीवनभर साधना गर्नु भएको काव्य संग्रह यही पाण्डुलिपिमै थियोे ।

पाण्डुलिपिको अध्ययन पश्चात अधिकांश काव्यहरू तीर्थाटनसँग सम्बन्धित रहेकोले मैले बद्री केदार यात्रा (शुभ साइत, तीर्थगमन, श्री केदारनाथजीको दृश्य, श्री बद्रीनाथजीको दृश्य, श्री बद्रीनाथबाट रमाना, बाटा धामको भीड, धाम यात्रा गर्ने रूल नियम), तीनधाम यात्रा (रामेश्वरको दृश्य तथा स्नान दर्शन वेटद्वारिकाको दृश्य, अयोध्यापुरीको दृश्य), मुक्तिनाथ धाम तीर्थयात्रा, देवघाट तीर्थयात्रा, मानसरोवर तीर्थयात्रा, ताक्लाकोटको दृश्य मानसरोवरको दृश्य, अलमल अलपत्र, अलाप विलाप पिठौराकोटको दृश्य), गोस्वामि कुण्ड यात्रा, कुरूक्षेत्र तीर्थयात्रा, जनकपुरधाम यात्रा, राम्दिघाट कोटीहोम महायज्ञ, केही ज्ञान तत्वका कुरा, सजिलो यज्ञ, श्रीमद्भागवत सप्ताह महायज्ञ, खोरियाघाटको दृश्य र त्रिवेणी यात्रा तथा कोटीहोम शीर्षकमा रहेका काव्यहरूको सम्पादन गरी कवि लोकनाथ उपाध्याय रेग्मीद्वारा लिखित काव्यहरूलाई काव्य संग्रह ‘तीर्थाटन’ नामाकरण गरी सार्वजनिकरण गर्न पाउँदा अपूर्व खुशी लागेको छ ।

 नेपाली भाषाको हालसम्म प्राप्त सबभन्दा पुरानो लिखित दस्तावेज दामुपालको अति संक्षिप्त दुल्लू (वि.सं.१०३८) लाई मानिएको छ । कविता साहित्यको इतिहासको चर्चा गर्दा नेपालको एकीकरण र राज्य विस्तारको अवधि नेपाली कविता साहित्यको आदिकाल हो । जसलाई वीरगाथाकाल पनि मानिएको छ । यसपछिको पूर्वमध्यकालमा कृष्णभक्ति, रामभक्ति र निर्गुणभक्ति धाराका कविताहरू लेखिएका छन् । भक्तिकालमा पाल्पाली आदिकवि छविलाल नेपालले गोपीगीत (२९२५), पुत्रशिक्षा ( १९३५) र खड्गस्तुति (१९५३) रचना गरेका थिए । यतिबेलादेखिनै पाल्पाली स्रष्टाहरूले कविता साहित्यको इतिहासलाई आजको समुन्नत अबस्थासम्म ल्याइपुर्याएका छन् ।

राष्ट्रिय स्तरमै प्रतिष्ठापित शास्त्रकवि माधव प्रसाद देवकोटा, दर्शन शिरोमणि मीनप्रसाद नेपाल, पवन कुमारी देवी श्रेष्ठ, यादवनाथ करुोइराला, कुलमणि देवकोटा, कृष्णचन्द्र देवकोटा, नलराज शास्त्री नेपाल, कालुमान अमात्य, प्रा.डा. वेणिमाधव ढकाल, डा. माधव प्रसाद पाण्डे, कृष्ण प्रसाद कोइराला, रामजी प्रसाद ज्ञवाली, महेश्वर प्रसाद श्रेष्ठ आदिले कृतिहरू प्रकाशित गरी भक्ति कविता साहित्यको व्यापिकरणमा योगदान पुर्याएको देखिन्छ ।

विशेषतः भक्तिमार्गमा आधारित तीर्थयात्रा केन्द्रीत साहित्यको लेखाजोखा गर्दा अग्रज नियात्राकार सुब्बा कृष्णप्रसाद लाकौलले तीर्थयात्रा दैनिकी (१९३७), गितासार (१९६८), लेखेका थिए । दुवै कृति प्रकाशित (२०८१) भएका छन् । स्रष्टा शिव प्रसाद कोइरालाको धार्मिक नियात्रा तीर्थयात्रा (२०८०) प्रकाशित भएको छ । लाकौलको तीर्थयात्रा दैनिकी र कोइरालाको तीर्थयात्रा भित्र विभिन्न देवतीर्थस्थलहरूको यात्रा, अबस्था र दृश्यावलोकनहरूलाई गध साहित्यको रूपमा प्रस्तुत गरिएको छ । चिनको मानसरोवर, नेपाल र भारतमा रहेका पवित्र देवतीर्थस्थलहरूको यात्रा, अवलोकन, दर्शन गरी भक्तिमार्ग केन्द्रीत पध यात्रा साहित्यको काव्यिक पाण्डुलिपि लोकनाथ उपाध्याय रेग्मीद्वारा लिखित तयार पारिएको भएतापनि अप्रकाशित अवस्थामै रहेको थियो । आफ्नो जीवनकालमै कृति प्रकाशित गर्ने सोंच आदरणीय पिताजी कविज्यूले लिनु भएतापनि सो पूरा हुन सकेन् यधपि परलोकगमन पश्चात भएतापनि काव्यहरू एकत्रित गरी काव्य संग्रह तीर्थाटन (२०८१) प्रकाशन गर्नुहुने लेखककी धर्मपत्नी तिलकुमारी रेग्मी, व्यवस्थापकीय चाजोपाँजो मिलाई पिताजी लोकनाथ उपाध्याय रेग्मीलाई नेपाली कविता साहित्यको इतिहासमा ‘कवि’ को रूपमा प्रतिष्ठापित गर्नुभएकोमा सुपुत्रत्रय नारायण प्रसाद रेग्मी, सुदन प्रसाद रेग्मी र ओम प्रकाश रेग्मी सदा स्मरणीय पात्रको रूपमा रहेका छन् । पाण्डुलिपिभित्र रहेका सबै काव्यहरूलाई ‘तीर्थाटन’ भित्र समेटन सकिएका छैनन् । अझैपनि स्वर्गद्वारी धाम यात्रा, काशी गयाजीको यात्रा, कालिगण्डकीको स्नान, रिखेश्वरको दर्शन, मिर्मि जल बिधुत दृश्य, मकै छर्ने तरिका, पतिपत्नी सम्बन्ध, रामपुर बेझाडको धान्याचल सप्ताह महायज्ञ, दाजु डिठा प्रेमनारायणको स्मृति, भाइ भिन्नको अबस्था, भाष्यमा ७५ जिल्ला, मुलुक संकटमा, नयाँ युवकलाई चेतना, गरूड पुराण महायज्ञको विवरण, नाति तोयनाथको विवाह, बडा दशैको आशीर्वाद, वरदान, रामपुर विकास, चन्द्रग्रहण, २०६३ सालको वर्षा, अमेरिका यात्रा लगायतका शीर्षकका काव्यहरू रहेका छन् । यी सबैलाई सम्पादित गरी प्रकाशित गर्ने हो भने पनि कवि लोकनाथ उपाध्याय रेग्मीको फेरि अर्को कृति प्रकाशित हुन जानेछ ।

देवतुल्य पितृस्वरूप भइ परलोकमा रहनु भएका हजुरबुबा सरहको पुजनीय व्यक्तित्व कवि लोकनाथ उपाध्याय रेग्मीद्वारा लिखित तीर्थयात्रा परक काव्यहरूलाई सम्पादित गरी तीर्थाटन नामाकरण गरी प्रकाशन कार्य गर्नमा सहयोग पु¥याउने उपयुक्त पात्र म कदापि होइन यद्यपि नाति पुस्ताकै म पुष्कर अथक रेग्मीले कृति सम्पादन गर्ने अवसर पाएकोमा हृदयदेखिनै गौरवान्वित भएको छु । शुरूमै भनिसकेको थिए– पाण्डुलिपि अति जिर्ण, झुत्रो, पृष्ठहरू च्यात्तिएका, कतिपय अक्षरका अंशहरू नभएका, कतै अक्षरहरूनै नबुझिएका अबस्थामा रहेको उपलब्ध पाण्डुलिपिमा कविज्यूद्वारा जे जसरी जस्तो भाष्यमा लेखिएका थिए, तिनिहरूलाई जस्ताको तस्तै प्रस्तुत गरिएको छ । यसर्थ अध्यताहरूले श्लोकको मनन गरी रस्वादन गरिदिनु हुन सादर अनुरोध छ । ‘तीर्थाटन’ पठनीय कृति मात्रै नभइ दर्शनीय पवित्र तीर्थस्थलको रूपमा समेत उपस्थित भएको छ । अतः काव्य पारखीहरू र देव तीर्थयात्राप्रति रुचि राख्ने सबैले यो कृतिको अधोपान्त आस्वादन गरेमा देह र मन नै समस्त तीर्थस्थल पुगी पुण्य प्राप्ति भएको महसुस हुनेछ ।
(लेखक स्थापित साहित्यकारका साथै श्रष्टा/समीक्षक हुन् ।)

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update