Shittalpati
प्रेस चौतारी पाल्पाले बैशाख २७ गते स्थापना दिवस मनाउने

पाल्पा, प्रेस चौतारी नेपाल पाल्पा शाखाले यही बैंशाख २७ गते स्थापना दिवस मनाउने भएको छ । शाखाको तानसेनमा बसेको बैंठकले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने निर्णय गरेको हो ।

शाखाले दिवसको अवसरमा माध्यमिक तह विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्ने, २०८२ सालमा  प्रदान गर्ने चौतारी  पत्रकारिता पुरस्कार प्राप्त गर्ने व्यक्तिहरुको नामावली सार्वजनिक गर्ने निर्णय गरेको छ । उसले पुरस्कारको लागि ३ सदस्यीय छनोट समिति समेत गठन गरेको छ ।

शाखाले मे १  बैशाख १८ गते मजदुर दिवसको दिन जिल्लाका सञ्चार मजदुरहरुलाई सम्मान गर्ने समेत निर्णय गरेको छ । बैठककमा शाखाले बार्षिक कार्ययोजना बनाएर काम गर्ने, विभिन्न समयमा चौतारी घुम्ती बैठक सञ्चालन गर्ने, सदस्यता बृद्धि गर्ने पनि निर्णय गरेको छ ।

बैठकमा नेकपा एमालेका जिल्ला कमिटी सदस्य एवं प्रेस चौतारी इन्चार्ज राजेश कुमार अर्यालले पत्रकारले जनताका जीवनशैलीसँग जोडिने खोजिमुलक समाचारमा ध्यान दिई समाज परिवर्तमा केन्द्रित हुनुपर्नेमा जोड दिए । अबका दिनमा परम्परागत धारणा, विचारबाट पत्रकारिता चल्न नसक्ने भएकाले प्रविधिमा आधारित पत्रकारिताको खाँचो रहेको इन्चार्ज अर्यालले बताए । पाल्पामा धेरै विषयवस्तुका समाचारहरु ओझेलमा परेकाले पत्रकारले चनाखो भएर काम गर्न अर्यालले जोड दिए ।

कार्यक्रममा प्रेस चौतारी नेपालका पूूर्व केन्द्रिय सदस्य एवम् प्रदेश सह–इन्चाज कमलराज तिमिल्सेनाले पत्रकारिता पेशामा नयाँ पुस्तालाई जोड्ने गरी चौतारीले अभियान चलाउन अनुरोध गरे । अहिलेका नयाँ पुस्ता पत्रकारितामा चाख नदेखाउँदा पेशा नै लोप हुने अवस्थामा पुगेको उनको भनाई छ । चौतारी लुम्बिनी प्रदेश समिति सचिव कृष्ण पोखरेलले प्रदेश समितिले जारी गरेको पत्रकार आचारसंहिता, प्रदेश समितिको बार्षिक कार्ययोजना तथा कार्यक्रमका बारेमा जानकारी गराएका थिए । चौतारीका जिल्ला  अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता,उपाध्यक्ष सोवाकान्त पाठकको स्वागत र सचिव दयाराज न्यौपानेको सञ्चालनमा बैंठक  भएको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update