Shittalpati
मातातीर्थ औँसीले दिने प्रेरणा

मातातीर्थ औँसी एक किसिमको चाड हो । यो पर्व हरेक वर्ष वैशाख शुक्लपक्षको औँसी तिथिमा मनाइन्छ । यस वर्ष यो पर्व आज परेको छ । यस दिनलाई मातृ औँसी पनि भनिन्छ । व्यवहारमा भने आमाको मुख हेर्ने दिनको नामले यो पर्व बढी परिचित छ । यस दिन आफ्नो जन्म दिने आमालाई सम्मान गर्ने, माया–ममता दर्शाउने तथा स्मरण गर्ने गरिन्छ । यस पर्वमा आमालाई मीठो खाना र राम्रो नाना दिएर सम्मान गर्ने गरिन्छ ।

वास्तवमा सन्तानका लागि आमा माया, ममता, करुणा र स्नेहकी प्रतिमूर्ति हुन् । आमाले अनेक दुःख कष्ट बेहोर्दै नौ महिना शिशुलाई गर्भमा राखेर माया, ममता र संस्कारले सिँचन गर्छिन्, कठोर प्रसवपीडा सहेर सन्तानलाई जन्म दिन्छिन्, आफूले खाइनखाई सन्तानको पालनपोषण गर्छिन्, आफ्नो ज्यानको पर्वाह नगरी सन्तानको सुरक्षा गर्छिन् । यही कारण आमाको यति महत्व भएको हो । आजको दिन श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मनपर्ने खानेकुरा तथा उपहार दिई छोराछोरीहरूले आमाबाट शुभ आर्शिवाद ग्रहण गर्ने चलन छ । आमाबाट टाढा रहेका सन्तानहरू आमालाई भेट्न पुग्ने गर्छन्  भने विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरूले सञ्चारका साधनहरूमार्फत सम्झिने गर्छन् ।

आमा नभएकाहरूले पनि आमाको आत्माको शान्तिको कामना गर्दै श्राद्ध–तर्पण गरी मातृत्वको स्मरण गर्ने गर्छन् । यसको अर्थ वर्षको एक दिन मात्र आमाको सम्झना गर्ने र अघिपछि जे गरे पनि हुन्छ भन्ने होइन । वर्षैभरि यसैगरी आमाको सम्मान र सम्झना गर्नुपर्छ भन्ने सन्देश दिनका लागि यस्तो पर्वको चलन चलेको हो । धार्मिक ग्रन्थहरूमा आमालाई देवतासरह मान्नुपर्छ भनिएको छ । त्यो भनेको पनि आमालाई पनि देवतालाई जस्तै भ्याएको बेला फूल अक्षता चडाउने भन्ने होइन । हरेक दिन आमालाई मन पर्ने काम गरेर खुसी राख्नुपर्छ भन्ने हो । यसर्थ यो पर्वले सबैलाई यस्तै गर्न प्रेरणा दिने गरेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update