Shittalpati
लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल

रुपन्देही, बुद्व जन्मस्थल लुम्बिनीमा पहिलोपटक अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल भएको छ । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो सांस्कृतिक फेस्टिबल र सेमिनार लुम्बिनीमा आयोजना गरिएको हो ।

यसअघि एसियाका अन्य मुलुकमा आयोजना हुने गरेको थियो । यस पटक भने लुम्बिनीमा स्थानीय सारीपुत्र फाउन्डेसनको समन्वय, चीनको वल्र्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड, वीचो पिस क्यालिग्राफी एण्ड पेन्टिङ एकेडेमी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लुम्बिनी विकास कोषको सहकार्यमा सांस्कृतिक फेस्टिभल भएको हो । सेमिनारको आयोजक भने लुम्बिनी बौद्ध विश्वविद्यालय रहेको छ । बैशाख १३ र १४ गते हुने कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार उद्घाटन गरेका छन् । महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वमा अशान्ति बढिरहेका बेला बुद्ध दर्शन र शिक्षाको उपादेयता थप वृद्धि भएको बताए ।

अहिले विश्वमा बढ्दै गएको द्वन्द्व र हिंसालाई हतियारले होइन बुद्ध दर्शनले मात्रै रोक्न सक्ने उनको भनाई छ । विश्वमा जल, थल र वायुबाट समेत आक्रमण गर्न सक्ने खतरनाक हतियार निर्माण भइरहेको बताउँदै त्यसलाई रोक्न शान्ति, करुणा र मानवताको उपदेशले मात्रै सम्भव हुने प्रधानमन्त्री ओलीले बताए । उनले बुद्धले आफ्नो निजी सुखसयल छाडेर मानव कल्याणका लागि दरबार छाडेको बताउँदै बुद्धको जीवनबाट मानव जातिले धेरै कुरा सिक्नुपर्ने बताए ।

बुद्ध शिक्षा र विचार, शान्ति करूणा र मैत्रीभावलाई जीवित राख्न ठूलो संघर्ष भएको इतिहास सम्झाउँदै अब बुद्धको विचार अनुसारलाई विश्व शान्ति कायम गर्न सकिने बताए । महोत्सवमा भिक्षु, भिक्षुणी, लामा, उपासक उपासिका एवं बौद्धमार्गीहरुको सहभागिता रहेको छ । उद्घाटन समारोहका अवसरमा हिमाली क्षेत्रमा प्रख्यात स्याब्रु, योल्मो नृत्यसहित विभिन्न सांस्कृतिक कार्यक्रम समेत देखाइएको थियो । फेस्टिभलमा ४० देशका प्रतिनिधिहरु सहभागी छन् । यसअघि पहिलो, दोस्रो र तेस्रो सांस्कृतिक फेस्टिवल कम्बोडिया, श्रीलंका र थाइल्याण्डमा सम्पन्न भइसकेका छन् । लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने योजनासहित यो पटक लुम्बिनीमा फेष्टिबल आयोजना गरिएको जनाइएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update