Shittalpati
आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप

काठमाडौं, आन्दोलनरत शिक्षकले निषेधित क्षेत्र प्रवेश गर्न प्रहरी ब्यारिकेड तोडेपछि प्रहरीसँग झडप भएको छ । केहीबेरअघि नयाँबानेश्वरमा झडप भएको हो ।

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै जारी आन्दोलनको २६ औं दिनमा शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको हो । शनिबार सरकारसँग भएको वार्ता निष्कर्षबिहीन भएपछि महासंघले आन्दोलनलाई निरन्तरता दिएको छ ।

शिक्षकहरूले प्रहरी ब्यारिकेड भत्काएपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । सो क्रममा प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो भने भिडबाट शिक्षकहरुले ढुंगामुढा प्रहार भएका थिए । झडपमा ७ जना शिक्षक घाइते भएको बताइएको । सामान्य लाठीचार्ज र पानीको फोहरा हानिएको प्रहरीले जनाएको छ ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने करिब ६० जना शिक्षक घाइते भएको दाबी गरे । उनीहरुको सिभिल अस्पताल, एभरेस्ट अस्पताल र ट्रामा सेन्टरमा उपचार भइरहेको उनको भनाइ छ ।

विद्यालय शिक्षा विधेयक जारीलगायतका माग राख्दै देशभरका शिक्षक कर्मचारी चैत २० देखि आन्दोलनमा छन् । सरकारले वार्ताको प्रयास गरे पनि सफल हुन सकेको छैन । आइतबार काठमाडौंको माइतीघरमा आन्दोलनका लागि आएका शिक्षकहरूले शिक्षकको माग पुरा गर, विद्यालय शिक्षा ऐन जारी गर लगायतका नारा लगाएका थिए ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update