
आज नेपालसहित विश्वभर काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस मनाइँदै छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनको पहलमा हरेक वर्ष २८ अप्रिलमा यो दिवस मनाउने गरिन्छ । ठूला औद्योगिक राष्ट्रहरुसँगै विकासको दौडमा लागेका राष्ट्रहरुले कामदार, मजदूरको सुरक्षा र स्वास्थ्यमा ध्यान दिन सकुन् भनेर यो दिवस मनाउने गरेको पाइन्छ ।
मानिसले काम गर्दा मुख्य दुई पक्षलाई प्राथमिकता दिइएको हुन्छ । पहिलो व्यक्तिको भौतिक सुरक्षा, दोस्रो स्वास्थ्य सुरक्षा । सामान्यदेखि जोखिमयुक्त काममा व्यक्तिगत सुरक्षा र स्वास्थ्य सावधानीलाई महत्वको साथ हेरिनुपर्छ तर यसको वेवास्ता गर्ने क्रम बढिरहेको छ । कामदार, श्रमिकको सुरक्षा र स्वास्थ्यमा भएको लापरवाहीले हजारौं मरिरहेका छन् । हाम्रो देशमा पनि कामदारको रुपमा खाडी मुलुक गएका श्रमिकका शव बाकसमा फर्किरहेका छन् । यो दुखद् हो । सबै कामदारहरूको सुरक्षित र स्वस्थ वातावरणको मौलिक अधिकार ठूलो महत्वको विषय हो । जहाँ मानिसले काम गर्दछन्, त्यो ठाउँ स्वास्थ्यको दृष्टिले सुरक्षित हुनुपर्छ भन्ने कुरामा यो दिवसले जोड दिन्छ । कामको प्रकृति र वातावरण तथा अन्य पक्ष सुरक्षित नहुँदा मानिसको जीवन वा स्वास्थ्यलाई तत्काल वा दीर्घकालमा असर पु¥याउने खतरा हुन्छ । यस्तो कुनै किसिमको खतरा हुनुहुँदैन । हरेक कोण र दृष्टिकोणबाट सुरक्षित हुनुपर्दछ । सुरक्षाको दृष्टिकोणले कुनै कमी कमजोरी छ कि ? स्वास्थ्यका दृष्टिकोणले पनि उपयुक्त छ कि, छैन ? भन्ने कुरामा यो दिवसले ध्यान दिनुपर्छ । सबैले काममा सुरक्षा र स्वास्थ्यका दृष्टिकोणले पनि उचित वातावरण पाउनु पर्दछ । सुरक्षित र स्वस्थ कार्यस्थलले कामदारहरूलाई चोटपटक र रोगबाट बचाउने मात्र होइन, यसले चोटपटक र बिमारीको दर कम गर्न, कामदारहरुको अनुपस्थिती र काम नै छाडेर जाने अवस्था हटाउन, उत्पादकत्व र गुणस्तर बढाउन र कर्मचारीको मनोबल बढाउन सक्छ । यसर्थ सुरक्षित कार्यस्थल र स्वस्थका लागि काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस महत्वपूर्ण हुने छ ।