
विश्व नृत्य दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ । आजको दिन नृत्यकलाको संस्कृति, परम्परा एवं संस्कार विकसित भएका देशहरुमा नृत्यकलाको सम्मान, त्यसप्रति मानिसहरुको ध्यानाकर्षण तथा चेतना अभिवृद्धि गर्ने उद्देश्यले नृत्यकला प्रदर्शन गर्ने गरिन्छन् ।
सन १९८२ अप्रिल २९ आजकै दिनमा पहिलो पटक राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संघ (युनेस्को) अन्तर्गत पर्ने अन्तर्राष्ट्रिय थिएटर इन्ष्टिच्युटको अन्तर्राष्ट्रिय डान्स कमिटिले यो दिवस मनाउने घोषणा गरेको थियो । यो दिवसको प्रमुख उद्देश्य भनेकै विश्वस्तरमा सर्वसाधारणमाझ प्राचीनकालदेखि विकसित भइआएको नृत्यकला एवं त्यसको संस्कृतिको महत्व दर्शाउनु र नृत्यकलाप्रति सबैको ध्यानाकर्षण तथा जागरुकता बढाउनु हो । नृत्य एक कला हो, जसले लयबद्ध वा सङ्गीतको तालमा शरीरको चाललाई दर्शाउँछ । भनिन्छ– नृत्यबिना संसार नै अधुरो हुन्छ । नाचबिना यो संसार अस्थिर छ । हामीले दैनिक गर्ने कार्य पनि एक नृत्य नै हो भने हिँडाइ पनि नृत्य हो । बिहे व्रतबन्धलगायत कुनै पनि जीवन उन्मुख क्रियाकलाप नृत्यबिना परिपूर्ण मानिँदैन । अझ पछिल्लो समय मानिसको जीवन शैली नै अस्तव्यस्त र तनावग्रस्त भएको अवस्थामा नृत्यले मानिसलाई प्रभूल्लित बनाउन महत्वपूर्ण भूमिका खेल्दछ । नेपालमा आधुनिक नृत्यकलाको संस्कृति, परम्परा एवं संस्कार विकसित हुँदै गए पनि परम्परागत लोकनृत्य भने लोप हुने अवस्थामा पुगेको छ । यो अत्यन्त दुखको कुरा हो । यसको खोज, अनुसन्धान गरी संरक्षण गर्न जरुरी छ । नृत्यको अनेक फाइदा भएकाले यसलाई उपयोगी कसरतका रूपमा लिन सकिन्छ । नाच्नाले हृदय तथा फोक्सोको अवस्थामा सुधार आउने गर्दछ । नृत्यले मानिसको मांसपेशी बलियो बनाउनुको साथै हड्डीलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्दछ । यसर्थ लोक नृत्यको संरक्षण गर्दै सबै वर्ग र क्षेत्रमा यसलाई विस्तार गर्न सकियो भने मात्र हरेक वर्ष यो दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ ।