Shittalpati
आज विश्व नृत्य दिवस मनाइँदै

पाल्पा, आज अन्तर्राष्ट्रिय नृत्य दिवस  नेपालसहित विश्वभर विविध कार्यक्रम गरी  मनाइँदै छ । यो दिवस सन् १९८२ देखि यूनेस्कोको सहयोगी एनजीओ अन्तर्राष्टिय नृत्य परिषद्को पहलमा मनाउन थालिएको हो ।

त्यसयता हरेक वर्ष २९ अप्रिलमा नृत्य दिवस मनाउने गरिएको छ । यस दिन अर्थात २९ अप्रिल जिन जर्जस नोभेरेको जन्मदिन हो, जसलाई आधुनिक ब्याले नृत्यको निर्माता मानिन्छ । दिवसका अवसरमा जनमानसमा नृत्यको महत्व बुझाउने प्रयास गरिन्छ । हिजोआज शैक्षिक प्रणालीदेखि सबै क्षेत्रमा नृत्यलाई उचित स्थान प्रदान गरिनुपर्ने आवाज बुलन्द बन्दै गएको छ । नृत्यकलाको संस्कृति, परम्परा एवं संस्कार विकसित भएका देशहरुमा नृत्यकलाको सम्मान, त्यसप्रति मानिसहरुको ध्यानाकर्षण तथा चेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लगायत विश्वका विभिन्न मुलुकमा नृत्यकला प्रदर्शन गरिन्छन् । नृत्यकलासँग जोडिएको हिन्दू धार्मिक प्रसंग अनुसार त्रेता युगमा समस्त देवताको अनुरोधमा ब्रÞमाले नृत्यवेद तयार गरेको र त्यहिबेलादेखि नृत्यको उत्पति भएको विश्वास गरिन्छ । नृत्य एक कला हो, जसले लयबद्ध वा संगीतको तालमा शरीरको चाललाई दर्शाउँछ । भनिन्छ– नृत्यबिना संसार नै अधुरो हुन्छ । नृत्यको लोकप्रियता बढेसँगै स्वास्थ्यलाई पनि राम्रो गर्ने भएका कारण अहिले जुम्बा, हिपहप, ब्रेक डान्स, बालेट, साल्सालगायतका नाच प्रचलनमा देख्न पाइन्छ । समयको विकासक्रमसँगै नृत्य पेसा व्यावसायिकतातर्फ उन्मुख हुन थालेको छ । नाच्न सिकाउने प्रशिक्षक भएर वा कार्यक्रममा नृत्य प्रस्तुत गरेर पनि मानिसले रोजगारी पाएका छन् ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update