Shittalpati
शिक्षा, स्वास्थ्य अधिकार र आन्दोलन  

नेपालमा आन्दोलनको महौलले निकै चर्चा पाइरहेको छ । आन्दोलन आफैमा असन्तुष्टीलाई सन्तुष्टिको मार्गतर्फ अग्रसर गराउने महत्वपूर्ण माध्यम पनि हो तर त्यसको आवश्यकता र औचित्यलाई कसरी बुझ्ने भन्ने विषय महत्वपूर्ण छ । मुलुकमा अहिले शिक्षक, चिकित्सक लगायत विभिन्न पेशा र व्यवसायसँग आवद्ध हुनेहरु प्रायः आन्दोलनमा व्यस्त देखिएका छन् । आन्दोलनले निकास दिन्छ, अन्यथा निकास र समस्याहरुका विषयमा सुनवाई नै हुँदैन भन्ने सोंचलाई न्युनिकरण गर्नेतर्फ कसैको पनि ध्यान जान सकेको छैन् । राजनैतिक व्यवस्था परिवर्तनका लागि हुने गरेका आन्दोलन र संघर्षबाट प्राप्त नयाँ व्यवस्थाले आफुहरु आन्दोलित हुँदा साथ लिएको बदलामा के दियो ? कसरी सम्बोधन गर्दै छ ? भन्ने विषय अत्यन्तै महत्वपूर्ण पक्ष हो । शिक्षकका पेशाको ग्यारेण्टी गर्ने सोंचका साथ शुरु भएको शिक्षक आन्दोलनले महिना दिन वित्नै लाग्दा पनि निकास नपाउनु आफैमा अत्यन्त्यै दुर्भाग्यपूर्ण अवस्था हो । एउटा आन्दोलन नसकिदै फेरी चिकित्सकहरुले समेत प्रर्दशन र आन्दोलनलाई अगाडि बढाएका कारण मुलुकको शिक्षा, स्वास्थ्य क्षेत्र अहिले थला परेको अवस्थामा छ ।

सरकारलाई दवाब दिने स्वरुपका आन्दोलन गरी रहँदा देश र जनताका न्यूनतम अधिकारहरुको हनन् नहोस् भन्नेतर्फ पनि सबैले ध्यान दिनुपर्ने देखिन्छ । समस्याहरुको पहिचानका लागि हुने आन्दोलन र संघर्षहरुले मुलुकमै दीगो समस्याहरुको प्रार्दुभावलाई बढावा दिने काम कदापी उपयुक्त हुन सक्दैनन् । समस्याको समाधानका लागि दिईने हरेक दवाब र आन्दोलनबाट निकास निस्कने खालका परिणामुखी सोंचको परिकल्पना पनि आवश्यक छ । यदि त्यसो गरिएन भने आन्दोलनबाट प्राप्त हुने उपलब्धीसँगै समाधान नै गर्न नसकिने खालका क्षति पनि हुने खतराप्रति शिक्षक र चिकित्सकहरुले ध्यान दिन जरुरी छ । पेशा व्यवसाय आफैमा पनि सेवादायी अभियान पनि हुन । त्यसमा विश्वव्यापी मानव अधिकारका न्यूनत्तम मूल्य र मान्यता पनि गाँसिएका हुन्छन् । त्यस कारण पनि आफ्नो अधिकारको माग गरी रहँदा बालबालिकाका पढ्न र सिक्न पाउँने अधिकारको पनि रक्षा गर्नु हामी सबैको दायित्व हो । त्यस्तै चिकित्सकहरुबाट प्राप्त सेवालाई निरन्तरतामा क्रम भङ्ग हुनु भनेको पनि समयमा उपचार पाउँने नागरिकका अधिकारहरुप्रति वेवास्ता भएको भन्ने कुरालाई आधारभूत मूल्य र मान्यतालाई प्राथमिकता दिएको मान्न सकिन्छ । त्यस कारण सरकार, अनि आन्दोलनरत पक्ष सबैले आ–आफ्ना दायित्व र जिम्मेवारीलाई बोध गरेर अगाडि बढ्नु नै आजको आवश्यकता हो, भन्ने कुरा बुझ्नु नै सबै भन्दा उत्तम उपाय हो । यदि त्यसो भएन भने देशले असल, सक्षम र स्वास्थ्य नागरिकको अभावमा बाच्नुपर्ने बाध्यता बाहेक केही पनि हुन सक्दैन ।  

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update