प्रधानमन्त्री ओली अब संकट काल लगाएरै भएपनि सत्ता र शक्तिको भरपुर प्रयोग गर्ने कसरतमा लागेका छन् । कोभिड १९ नियन्त्रणका लागि गरिएको लकडाउनले दिन प्रतिदिन थला पारेको मुलुकमा ओली सरकारले यो विश्वव्यापी महामारीलाई देखाएर सत्ता लम्ब्याउने खेलका लागि संकटकाल घोषणा गर्ने तयारीलाई व्यापकता दिनु भनेको लोकतन्त्रप्रतिको अर्को अमानवीय चरित्र बाहेक केही पनि हुन सक्दैन । यहाँसम्म कि प्रतिपक्ष समेतका नजरमा मात्रै होइन, सरकार प्रमुख ओली अहिले आफ्ना निकटका सहकर्मी र समकक्षीबाट दूरी बढाउँदै गएका छन् ।
जुन दुरी सरकारको आयु छोट्याउने कामका लागि मलजल जस्तै भएपछि, संकटकालको नयाँ तौर तरिका अबलम्वन गर्न खोजिएको हो । सत्तापक्ष भित्रै ओली प्रतिको वैमनुष्यता छताछुल्ल जस्तै भएपछि उनकै सहयोगीहरु पनि संकटकालको तीर चलाउने तयारीमा लागेका छन् । प्रचण्डको चक्रब्यूहमा घेरिएका ओलीलाई माधव, झलनाथ र बामदेवको निशानाले सरकार नछोड्ने उनको भीष्म प्रतिज्ञालाई सार्थकता दिनका लागि पनि संकटकाल नयाँ र महत्वपूर्ण शैलीको सत्ता टिकाउ कवच बन्ने विश्वास ओली निकटका नेताहरुको छ । किन कि अहिले ओली चारै तर्फबाट राष्ट्रवादको खोक्रो नाराले घेरिएका छन् ।
त्यसबाट बच्नका लागि पनि ओलीलाई संकटकालको घोषणा अवसर सावित हुने उनीहरुको दीवा स्वप्न मात्र हो । प्रधानमन्त्री नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सामिप्यतालाई आफ्नो अर्को कवचको रुपमा प्रयोग गर्ने अवसर खोजिरहेका छन् । देउवालाई प्रयोग गरेर आफ्नो शक्तिमा कुनैकमी नआएको देखाईरहेका प्रधानमन्त्री ओली, आफ्ना असक्षम सारथी पूर्वसञ्चारमन्त्री वास्कोटासंगै वैतरणी जाने सम्भावना पनि त्यतिकै प्रवल हुँदै गएको छ । बास्कोटा जस्ता चतुर खेलाडीहरु राज्यसत्ताको सहाराले पार लाग्न सकिन्छ कि भन्ने मनसायका साथ ओलीलाई खोली तराउने प्रयत्नमा अझै पनि बेग्रताका लागिपरेका छन् ।
अमेरिकी र भारतीय गुप्तचर संस्थाहरु, कोभिड १९ को युद्वसंगै नेपालमा राजनैतिक अस्थिरतालाई मलजल गर्ने दाउँकोखोजीमा छन् । एमसीसी र जारी नयाँ नक्सालाई लिएर कुटनैतिक खिचातनी गर्ने तयारी पनि व्यापकताका साथ भइरहेको देखिन्छ । पार्टी एकीकरण पछि, प्रचण्ड र ओली दुवै अध्यक्ष भएको नेकपा भित्रका अर्का दुई शक्ति नेपाल र खनालले पर्खिरहेको अवस्थालाई नजिकबाट चियाँईरहे पनि नेपालले तेस्रो वरियताका नेता बामदेवलाई कुनै न कुनै रुपमा सिङ्गारी रहेका छन् । त्यसकारण पनि ओली आफ्नो शक्ति सञ्चयको महत्वपूर्ण अंश संकटकाल नै मान्दछन् ।