रमेश विश्वकर्मा
गुल्मी । जिल्लाको मुसिकोट नगरपालिकामा क्वारेन्टाइनको विषयलाई लिएर दुई ठूला राजनैतिक दलहरुले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन् । केही दिन अघि मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले क्वारेन्टाइनको विषयमा दिएको अभिव्यक्तिप्रति नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका हुन् । मेयरको अभिव्यक्ति प्रति सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मुसिकोट नगर कमिटीले बचाउ गरेको छ, भने प्रतिपक्ष नेपाली काँग्रेसले त्यसको विरोध जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटी मुसिकोटले प्रेस विज्ञप्ति मार्फत क्वारेन्टाइन अनुगमनको क्रममा मेयर लगायतका जनप्रतिनिधी माथि भएको व्यवहारको विरोध गरेको छ ।
सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भएको क्वारेन्टाइन अनुगमन गर्न जेठ २५ गते नगरप्रमुख लगायतका नेता पुगेका थिए । नेकपा वडा कमिटी इञ्चार्ज भुप्रेन्द्र रायमाझी र सचिव नारायण थापाद्वारा जारी विज्ञप्तीमार्फत त्यस घटनाप्रति वडा कमिटीले ध्यानाकर्षण जनाएको उल्लेख छ । सोही घटनालाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मुसिकोट नगर कमिटिले पनि ध्यानाकर्षण जनाएको छ । कोभिड-१९ संक्रमणको बेला हुलहुज्जत पूर्ण कार्य भएको भन्दै ध्यानाकर्षण भएको नगर कमिटीका अध्यक्ष खुम बहादुर थापा र सचिव अग्निधर लोहनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यता सोही विषयलाई लिएर नेपाली कांग्रेस मुसिकोट नगर कार्य समितिले भने नगर प्रमुखबाट आएको अमानविय गैह्रजिम्मेवार अभिव्यक्तिलाई नेकपा मुसिकोट नगर कमिटीले विज्ञप्ती मार्फत ढाकछोप गर्नु निरंकुश र अधिनायकवाद चरित्रको प्रकाष्ठ भएको उल्लेख गरेको छ ।
विज्ञप्ति मार्फत लोकतान्त्रिक विधिबाट निर्वाचित जनप्रतिनिधिको आडम्वरपूर्ण व्यवहार र कार्यशैली अमर्यादित र अशोभनिय भएकोे बताईएको छ । नेपाली कांग्रेस नगर सभापति सुदर्शन शाक्यले प्रेस विज्ञप्ति जारी गर्दै नगरप्रमुखले सार्वजनिक रुपमा माफि माग्नु बताएका छन् । जिम्मेवार व्याक्तिबाट आएको गैर जिम्मेवार अभिव्यिक्तले सिङ्गो मुसिकोट नगरपालिकालाई बदनाम गरेको उनल विज्ञप्तीमा उल्लेख गरेका छन् । सभापति शाक्यले घटनालाई अतिरञ्जित गर्ने गरि जनतालाई तर्साउने खालको भ्रामक विज्ञप्ती प्रकाशित गरिएको प्रति कांँग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले कोभिड–१९ को जोखिमसँग मिलेर काम गर्न नेपाली काँग्रेस तयार रहेको बताएका छन् । प्रतिपक्षीदलंसँग सहकार्य नगरी अभावको बिच क्वारेन्टाइनमा बसेका जनतालाई भड्काउने कार्य गरिनु किमार्थ शही नभएको शाक्यले दाबी गरे । काँग्रेसको आवाजलाई नजर अन्दाज गरे नेपाली शसक्त रुपले आन्दोलनमा होमिने नगर सभापति शाक्यले उल्लेख गरेका छन् ।
मुसिकोट नगरपालिकाका मेयर सापकोटाले त्यस घटनालाई सामान्य रुपमा लिएको बताएका छन् । उनले कोभिड–१९ को व्यवस्थापनमा प्रतिपक्षसँग पनि मिलेर अगाडि बढेको दाबी गरे । ‘हामीले बनाएका क्वारेन्टाइन पुरै मापदण्ड अनुरुपका नहुन पनि सक्छन् ।’ उनले भने क्वारेन्टाइनमा रहेकाको गुनाँसो हामी सबैले सुन्नु पर्छ । यसलाई मैले नराम्रो मान्दिन’ तर क्वारेन्टाइन बाहिर व्यक्तिले भड्काउने र उकास्ने काम गरेको आरोप लगाए । यस विषयमा आफुहरु छलफल गर्न तयार रहेको उनले उल्लेख गरे ।