बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज जुन १२ का दिन संसारभर मनाइदै छ । सन् २०२५ सम्म सबै किसिमका बालश्रम अन्त्य गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का आह्वानमा सन् २००२ देखि यो दिवस मनाइने गरिएको हो । बालश्रमविरुद्ध सरकार र निजी क्षेत्रबाट बालबालिकाका क्षेत्रमा थुप्रै काम भएका छन् । तर, अपेक्षितरुपमा बालश्रम न्यूनीकरण हुन सकिरहेको छैन । सडक बालबालिका, बाल मजदुर, होटल तथा रेस्टुरेन्टका बालश्रमिक र सवारी साधनमा काम गर्ने बालबालिकाका दुःख, पीडा र यातना कमी आउन सकेको छैन ।
बालबालिकालाई शारीरिक र मानसिक असर पर्नेगरी दवाबमा कुनै पनि काम लगाउनु हुँदैन भनिए पनि व्यावहारिक रुपमा त्यो लागू हुन सकिरहेको छैन । बालश्रम दिवसलाई अन्तर्राष्ट्रिय स्तरमा मनाई रहँदा नेपालमा भने यो दिवसको औचित्य कति छ भन्ने प्रश्न खडा भएको छ । बालअधिकार र हकको विषयमा अनगिन्ती राष्ट्रिय अन्तर्राष्ट्रिय दिवस मनाइएका छन् । बालबालिकाको अधिकारमा कयौं वकालत, सभा सम्मेलन गरिए । तर बालअधिकार र उनीहरुको अवस्था जहाँ थियो त्यहि नै छ । बालअधिकारका मुद्दालाई अघि सारेर सरकारी र गैह्रसरकारी रकममा रमाउने अधिकारकर्मीहरु पनि कमी छैनन् यहाँ । दिवस मनाई रँहदा लाखौँको संख्यामा बालबालिका घरेलु श्रमिकका रुपमा कार्यरत रहेका छन् ।
मोटरसाईकल मर्मत गर्ने वर्कसप होस् वा होटल रेष्टुरेन्ट, सवारी साधन होस् वा कलकारखाना जताततै बालबालिकालाई बालश्रममा लगाइएको छ । बालकलाई जोखिमपूर्ण व्यवसाय वा काममा लगाएमा वा बालकको इच्छा विरुद्धमा कसैले काममा लगाएमा एक वर्षसम्म कैद वा पचास हजार रुपैँयासम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था भए पनि त्यसको उचित कार्यान्वयन हुन सकेको छैन । बालअधिकारको क्षेत्रमा समर्पित भएर लागेका संस्था हुँदै नभएका भने होइन । तर यहाँ राम्राभन्दा नराम्रोको नै बढी बोलवाला देखिने गरेको छ ।
बालबालिकाको दु:ख र उनीहरुको अवस्था हाम्रा कतिपय समाजसेवीको लागि दुहुनो गाई भएका छन् । तसर्थ यस खाले प्रवृतिको अन्त नभएसम्म दिवस मनाईरहनुको सार्थकता छैन । जबसम्म बालमैत्री शासन र बालअधिकारको सुनिश्चितताको लागि घर परिवारदेखि विद्यालयसम्मको वातावरण अनुकुल बनाउन सरोकार पक्षको व्यवहारिक प्रतिवद्धता रहँदैन तबसम्म दिवस मनाउनुको सार्थकता छैन ।