लामो समयदेखिको बन्दाबन्दीले विद्यार्थीहरु घरमै बसेका छन् । सबै शैक्षिक संस्थाहरु ठप्प छन् । जसले गर्दा विद्यार्थीहरुको पठन–पाठन पनि समेत प्रभावित भएको छ । केही स्थानीय सरकारहरुले प्रभावित बनेका विद्यार्थीहरुलाई अनलाईन, रेडियो, टेलिभिजनबाट पठन–पाठनलाई अगाडि बढाएको अवस्था छ भने केही स्थानहरुमा कार्ययोजना पुस्तिका निर्माण गरेर पठन–पाठनलाई अगाडि बढाएको अवस्था हो । परिस्थिती अनुसार शिक्षण सिकाई क्रियाकलापलाई पनि परिवर्तन गरिनुलाई सकारात्मक मान्नुपर्दछ । अझ वर्तमान विषम परिस्थितीमा आपतकाल कक्षा, पाठ्यपुस्तक र परीक्षाका पद्दति चलाउनुभन्दा सिकाई सुदृढ गर्ने विषयमा जोड दिनु उपयुक्त हुन सक्छ । यो जीवनका लागि आवश्यक सीपहरु सिकाउने बेला पनि हो । यो बेला कक्षाको पठन–पाठनलाई प्राथमिकता दिनु भन्दा सिपयुक्त सिकाईमा जोड दिनु आवश्यक छ ।
कोरोना अहिले सबैभन्दा उपयुक्त विषय हो जानकारीमा ल्याउन । यसैलाई कक्षा अनुसारको जटिलतामा प्रयोग गर्न सकिन्छ । यति बेला विद्यार्थीलाई अनुभव र ज्ञान सिकाउनु सान्दर्भिक हुन सक्छ । शिक्षक वा अभिभावकले आफूले सबैभन्दा राम्ररी जानेका कुरा सिकाउन सक्नुपर्छ । बालबालिकाहरुलाई स्कूलतर्फ फर्काउनभन्दा सिकाईको दायरा बढाउन तर्फ शिक्षक, अभिभावकले सोच्नु पर्दछ । स्कूलमा पढ्न गएको सिक्नको लागि हो । सिक्न बाँच्नको लागि हो । बाँच्नु एउटा अभिष्टको लागि हो । सिकाईको प्रयोजन त्यही अभिष्ट थाहा पाउनको लागि हो । त्यसैले हरेक परिवेशमा बाँच्ने आँट, सीप र आधार तयार गर्ने विषयमा विद्यार्थीहरुलाई लगाउने तर्फ शिक्षक, अभिभावकले ध्यान दिन जरुरी छ । खेतीपाती होस् या चुलोचौकोको सिकाईमा सबै बालबालिकाहरुलाई सरिक गराउन सक्नुपर्दछ । जसले गर्दा एक किसिमले स्वनियन्त्रित सिकाई पनि हुन्छ । किताबी ज्ञानमा मात्र केन्द्रित बालबालिकाहरुलाई बन्दाबन्दीका बेला व्यवहारिक र सीपजन्य सिकाईमा केन्द्रित गर्न सक्यौ भने विद्यार्थीहरु व्यवहारिक र सक्षम बन्न सक्छन् ।