शालिग्राम पाण्डे ‘शिला’
पृष्ठभूमि :
मनजीले धेरै अगाडि दिएको आफ्नो कथासंग्रह मनका कथाहरु पढ्ने फुर्सद नभएर त्यसै थन्किएको बेला कोरोना विरुद्धको लक डाउनले त्यो अवसर प्रदान गर्यो । म समालोचक त होइन, त्यो मेरो लेखनको विधा पनि होइन । म पनि कथा लेख्छु । मूलतः एउटा कथाकारले अर्काे कथाकारका कथाहरुलाई हेरिने तहबाट मैले यो लेख लेख्ने जमर्काे गरेको हुं । लेख कतै समालोचना जस्तो हुनसक्छ र अनुभूतिको वर्णन जस्तो पनि । जे होस् तर सबै लेखकहरुले लेखकहरुलाई मायाँ नै गर्छन् । देखेका कुराहरु नलुकाईकन भनेर पनि मायाँ गर्न सकिन्छ । राम्रा कुराहरुको प्रसंशा र सुधारका क्षेत्रहरुको पहिचान गरिदिन सके लेखकलाई त्यो भन्दा अरु मायाँ के हुन सक्छ र ! मीठो फलको आशा गर्नेहरुले सुन्तलाको रुखलाई जोगाउन र हुर्काउन मलजल गर्नैपर्छ । हांगाविंगा केलाउनै पर्छ । रुखमा लागेका ऐंजेरु तानिदिनै पर्छ । प्रतिभाहरु पनि रुख जस्तै हुन् । यति भनेर प्रवेश मार्ग त बनाएं । अब लागौं पुस्तक चर्चातर्फ ।
पुस्तकको बाह्य पक्ष :
पाल्पाली नारी हस्ताक्षर मन गहिरेका मनका कथाहरु पहिलो कथासंग्रह हो । उनको यो संग्रहमा २३ वटा कथाहरु रहेका छन् । यो संग्रह १०२+९ गरी जम्माजम्मी १११ पेजमा फैलिएको छ । बि.सं.२०७० सालमा प्रकाशित यो कथासंग्रहको प्रकाशक पाल्पा टाईम्स साप्ताहिक, तानसेन पाल्पा रहेको छ । लक्ष्मण रानाको आवरण रहेको पुस्तक डिमाई साइजमा छापिएको छ । पुस्तकको आई.एस.बि.एन्.नंवर पनि लिईएको छ । मन गहिरेले आफ्ना पिता स्व.लोकनाथ काफ्लेलाई समर्पण गर्नुभएको पुस्तकको मुद्रण आईडिया डिजाईनर्स बुटवलले गरेको छ । शिद्धहस्त कथाकार वनमाली निराकार तथा साहित्यकार कृष्णदेवी शर्मा श्रेष्ठले भूमिका लेख्नुभएको यो कथासंग्रहमा पाल्पा साहित्य समाजका तर्फबाट संस्थाका अध्यक्ष राजेन्द्रगोपाल श्रेष्ठले शुभकामना दिनुभएको छ । डेढ पेज देखि नौ पेजसम्म फैलिएका कथाहरु यस संग्रहमा समाविष्ट छन् । कथा भनेर लेखिएका सबै कथा हुंदैनन् । नाम दिएर मात्र गुण प्राप्त हुने भए सबैले चाहिंदो नाम जुराउंथे होलान् । धन नभएको धनबहादुर र मन नभएको मनबहादुर जस्तै । कथाका आफ्नै मानकहरु हुन्छन् ।
पुराना मानकहरु भत्किन्छन् र नयां निर्माण हुंदै जान्छन् । फेरि नवीन मानकहरु ठडिन्छन् । मूल्य सहितका रचनाहरुलाई मानकहरु उलङ्घन गर्ने हक छ । कथाभित्रका परिवेश, पात्र, कथावस्तु, लेख्य शैली शिल्प तथा प्रयुक्त भाषाले कथाको मूल्य निर्धारण गर्छ । तसर्थ यिनै कथा तत्वहरुका आधारमा कथाहरुको विवेचना गर्न पर्ने हुन्छ । विषयवस्तुको आँखाबाट मनका कथाहरु मन गहिरेका प्रस्तुत संग्रहका सबै कथाहरु सामाजिक विषयबस्तुमा बुनिएका देखिन्छन् । उनका सबै कथाहरुमा दाइजो प्रथा, बालविवाह, अनमेल विवाह, बहुविवाह, बेचविखन, घरेलु हिंसा, यौन शोषणका विषयहरु कथाबस्तु बनेर आएका छन् । समाजमा पुरुष प्रधान समाज संरचनाका कारण महिलाहरुले भोग्न परेका पीडा/ब्यथाहरु कथाले उतार्ने प्रयास गरेको छ । तसर्थ वनमाली निराकारको भूमिकामा प्रस्तुत भनाईलाई पैंचो लिंदै मनका कथाहरु नारी संवेदनाले भरिपूर्ण भएर आएका छन् भन्ने कुरामा सहि छाप लाउन सकिन्छ । सामाजिक विषयका मनका कथाहरुमा यौनपक्षले पनि टाउको उठाएको छ । अधिकांश प्रेम सन्दर्भहरु यौन आकर्षणबाट घटित भएका छन् । गोपाल, वीरबहादुर, रञ्जन, रणजित, हरिमायाँ जस्ता पात्रहरु यौन मानसिकताका कारण कथामा प्रवेश भएका छन् । तथापि मन गहिरेका कथाहरु विषय प्रधानताको हिसावले यौन कथा नभएर सामाजिक कथाहरु नै हुन् । नयां बिहानीले दाइजो प्रथालाई कथाको विषय बनाएको छ भने अपराध कथाले महिला हिंसालाई उतारेको पाइन्छ । कोही देव कोही दानवले बेचविखनलाई विषय बनाएको देखिन्छ । घातमा बहुविवाहको सन्दर्भ भेटिन्छ भने अब्यक्त चाहनामा अव्यक्तरुपमा अर्कैकी श्रीमतीलाई एकोहोरो मायाँ गर्ने पुरुषको चरित्र चित्रण गरिएको छ । आगोमा सशस्त्र युद्धको विभिषिका, गंगा कथामा यौन पिपासु पुरुषको चरित्रमा वीरबहादुरलाई उभ्याईएको छ । गंगा नाम जस्तै पवित्र छे । समर्पण कथा भने पुरुष महिला दुवै पात्रको आदर्श प्रेम सम्बन्धमा आधारित छ ।
कुमारी आमा कथाले केटाकेटी उमेरका आवरा सम्बन्ध, अपरिपक्व निर्णय र अतिसय भावुकताको परिणाम प्रस्तुत गर्न खोजेको छ । बद्लिएको सम्बन्ध बहुविवाहसंग सम्बन्धित देखिन्छ । देवदूत छोरी जन्माएको कारण पीडा भोग्न बाध्य महिला पात्रको कथा हो । अनुतापले भने असमयमै बिहे गर्दाको परिणाम प्रस्तुत गर्न खोजेको देखिन्छ । निस्वार्थ प्रेम पनि प्रेम विषयसंग सम्बद्ध भएर आएको छ । सरहद् पारी गरीव परिवारको चोखो मायाँको कथा हो । खलनाक सहयोगको नाममा यौन स्वार्थ पूर्ति गर्न बानी परेको पुरुष चरित्रलाई उतार्न लेखिएको कथा हो । जुंघेबा कथाले भने जेष्ठ नागरिकहरुको बर्तमान अवस्थालाई देखाउने प्रयास गरेको छ । प्रतिशोधमा रणजित साहुको यौन ज्यादतीलाई पस्किएको देखिन्छ । अतितको अनुहारमा मरेको प्रेमीको अनुहार अर्कै मान्छेसंग मिलेको आधारमा गांसिएको प्रेम सम्बन्धलाई देखाईएको छ । अन्तिम पत्र पागल पतिको प्रेम सन्दर्भमा लेखिएको छ । तिमी कहाँ छौ कथाले असिमित महत्वाकांक्षा पुरा गर्न घर छोडेर हिंडेकी युवतीको कारण छोरी र श्रीमान् माथि परेको असरलाई प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ । प्रतिविम्व कथाले प्रेमको अतिसय पागलपनलाई प्रस्तुत गरेको छ । अपमृत्यु दूर्गादत्त, हरिमायाँ र धनबहादुरको त्रिकोणात्मक यौन सम्बन्धमा रचिएको छ । संग्रहको अन्तिम कथा सम्झौताले पारिवारिक विषयलाई केन्द्रमा राख्दै श्रीमान् र श्रीमतिका बीच उपस्थिती र अनुपस्थितीमा सिर्जना हुने अविश्वास, विश्वास र पुनर्मिलनका विषयहरुलाई पस्केको छ ।
कथामा उपयुक्त प्रमुख पात्रहरु र तिनको धरातल :
पहिलो कथाकी इच्छा घरेलु हिंसा सहेर मात्र बस्दिन । संघर्ष गर्छे र दोश्रो बिहे गर्छे त्यसैले ऊ कथामा बलियो पात्रका रुपमा प्रस्तुत भएकी छ । अपराध कथाको प्रमुख पात्र सरोज आफ्नै श्रीमतीको घांटी अठ्याई मार्ने पुरुष भएकोले ऊ अपराध मनोवृत्ति भएको कमजोर पात्र हो । तेश्रो कथाकी बिपना संघर्षशील पात्रकी रुपमा देखिन्छे । घात कथामा मेलिनाले श्रीमान्बाट परित्यक्त भए पनि संघर्ष गरेर छोरीहरु हुर्काएकी छ । त्यसैले सक्षम पात्रकी रुपमा कथामा उभिएकी छ । अव्यक्त चाहनाको गोपाल पागल मनोदशामा एकोहोरो प्रेम प्रदर्शन गर्छ । घरभरी प्रेमिका र काल्पनिक छोरीहरुको मूर्ति बनाएर मूर्तिको अगाडि एक्लै बस्नु पागलपनको पराकाष्ठा हो । त्यसैले गोपाल कमजोर पात्रमा दरिएको छ । आगोको विष्णुमाया आफ्ना प्रियजन र सारा सम्पत्ति नष्ट हुँदा पनि बांचेकी छ । गंगा कथाकी गंगा श्रीमान्बाट पाएको एच.आई.भि.को जिवाणुसंग संघर्ष गर्दै समाजमा खुलेर अरुलाई संक्रमित हुनबाट जोगाउन लागि परेकी सक्षम पात्र हो । समर्पणकी पुष्पा प्रेमको अतिशय भावुकतामा भिक्षुणी बन्न नहुने थियो । रिंडीमा लास देख्दै उसमा बैराग्य प्रारम्भ भईसकेको देखिन्छ ।
कुमारी आमाकी प्रधान पात्र निशाले कुमारीमै जन्माएको छोरोलाई लता मिसको सहयोगमा बाबुको नाम दिन सक्षम भएकोले निशा बलियो पात्रका रुपमा कथामा उभिएकी छ । बद्लिएको सम्बन्ध कथामा पहिलो पात्र भएर उभिएकी विशाखा आत्मदाह गरेकी कारण अत्यन्त कमजोर मनोदशाकी पात्रमा दरिएकी छे । देवदूत कथामा आएकी नम्रता छोरी मात्र जन्माएको निहुंमा घर निकाला भए पछि गरेको उन्नति/प्रगतिले पाठकको जिब्रो आश्चर्यले बाहिर निस्कन्छ । त्यसैले ऊ पनि बलियो पात्रमा दरिएकी छे । अनुतापका अजय र पल्लवी दुवै अत्यन्त कमजोर पात्रका रुपमा उभिएका छन् । निस्वार्थ प्रेम कथामा निकिता र विजय प्रमुख पात्रका रुपमा उभिएका छन् तर कथामा पात्रको हैसियतले कुनै उतार चढाव दिन सकेको देखिन्न । सरहद् पारीकी स्यानीकान्छी संघर्षशील पात्र हो । विदेश गएका मान्छेहरुको लास बाकसमा आएको सुन्दा पनि आफ्नो खेमबहादुर कुनै दिन आउंछ भनेर अबिराम श्रीमान् कुरेर घर गृहस्थी चलाएकी स्यानीकान्छी कथाका सबै पात्र भन्दा यथार्थ र आदर्श पात्रका रुपमा देखिएकी छे । खलनायककी कृत्तिकाले विश्वासघाती पात्र रञ्जनलाई हत्या सम्म गर्न पुगेको सन्दर्भमा ऊ सोंचे भन्दा बढी आदर्श देखिने प्रयासमा अपराधी हुन पुगेकी छ । जुंघेबा जेष्ठ नागरिकको पीडा भोग्ने पात्रका रुपमा मानसिक विचनका कारण (लडेर) मरेकोले कमजोर पात्रका रुपमा उभिएका छन् ।
प्रतिशोधमा मालतीले आफ्ना छोरीहरुलाई बलात्कार गर्ने, प्रियजनलाई मार्ने रणजितका बिरुद्ध काली बनेर तरबार नचाउंदै अघि बढ्छे । त्यसैले मालती पनि कथामा दह्रो पात्रका रुपमा प्रस्तुत भएकी छे । अतितको अनुहारमा आफ्नै दाईको मृत्युपछि मानसिक बिचलनमा परेकी प्रियसी सुसिलालाई सञ्जिवको हात लगाइदिएर सुसिलाको अनुहारमा हांसो ल्याउने रमाको चरित्र सामान्य देखिन्छ । अन्तिम पत्र कथाकी शोभा श्रीमान्को ज्यादति र मृत्युपछि पनि आफ्नो जीवन रथ निरन्तर चलाउने सबल पात्रकी रुपमा आएकी छ भने तिमी कहाँ छौ कथाकी रितु प्रधान पात्र भए पनि चरित्रका हिसावले गतिशिल तर महत्वाकांक्षि र पारिवारिक भूमिकाबाट पलायन भएकीले कमजोर पात्रको श्रेणीमा उभिएकी छे । प्रतिविम्व कथामा समिर अत्यन्त कमजोर पात्र बनेर आएको छ । मायां गर्छु भन्न नसक्ने नामर्द पुरुष एकोहोरो प्रेमको तिर्खा प्रियसी र काल्पनिक सन्तान्का मूर्तिहरु बनाएर बस्छ । अर्काे पुरुष पात्र दूर्गानन्द अपमृत्यु कथामा ज्यादै निरिह पात्रको रुपमा प्रस्तुत भएको छ । यौन प्यास मेटाउन विधुवा आइमाईसंग सल्केको दूर्गानन्द एकदिन बिधुवासंग धनबहादु जोल्टिएको देखेपछि आत्महत्या गर्न पुग्छ । त्यसैले दूर्गानन्द कातर पात्र हो । संग्रहको अन्तिम कथा सम्झौतामा बिप्लव भन्दा आंचल बढी गतिशिल देखिएकीले उनी नै प्रथम पात्र हुन् । उनी आफ्नो करियरको लागि संघर्ष गरेर विदेश जानु, पारिवारिक विघटनको जोखिमलाई विदेशबाटै पत्र मार्फत ब्यवस्थापनको प्रयास गर्नु र सफल हुनुले कथामा आँचल सफल र बलियी पात्र भएर उभिएकी छ ।