आज विश्व रक्तदाता दिवस नेपालमा पनि मनाइदैछ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक वर्ष जून १४ का दिन यो दिवस मनाउन थालिएको हो । दिवसलाई नयाँ रक्तदाताका रुपमा युवाहरुलाई उत्प्रेरित गर्ने र नियमित रक्तदाताहरुलाई सम्मान गर्ने अवसरको रुपमा समेत लिने गरिएको छ । आफ्नो शरीरको रगत निःस्वार्थ, निःशुल्क दानस्वरूप प्रदान गर्दै आइरहेका स्वयंसेवी रक्तदाताहरूको उच्च मूल्यांकन गरी अन्तर्राष्ट्रिय उत्सवका रूपमा सन् २००४ देखि यो दिनलाई विश्व रक्तदाता दिवस भनी मनाउन थालिएको हो । हाम्रो देशमा स्वयंसेवी रक्तदाताहरूको संख्यामा उल्लेख्य वृद्धि भइरहेको अवस्था छ ।
यद्यपि सरकार र सम्बन्धित निकायबाट भने व्यवस्थापनमा ध्यान गएको गरेको देखिंदैन । स्वयंसेवी रक्तदाताको संख्या क्रमिक वृद्धि भइरहेको यो समयमा यसको सदुपयोग सही तवरले गर्न सकेमा रगत र रक्ततत्वको आवश्यकतालाई सहज प्रकारले निवारण गर्न सकिन्छ । विश्वका कुनै पनि देशमा रगत र रक्ततत्वहरूको आवश्यकतालाई पूरा गर्ने एउटै मात्र स्रोत स्वयंसेवी रक्तदाताहरू हुन् । स्वयंसेवी रक्तदाताको शरीरबाट जसरी निःशुल्क रगत दान गराइन्छ त्यसरी नै सेवाग्राहीले निःशुल्क प्राप्त गर्ने वातावरण अविलम्ब बनाउनेतर्फ सम्बन्धित निकाय र सरकार गम्भीरतासाथ लाग्नु जरुरी भइसकेको छ । जबसम्म निःशुल्क रगत वितरण गरिंदैन तबसम्म स्वयंसेवी रक्तदाता आफ्नो रगत वितरण होइन बिक्री भएको ठान्ने छन् ।
जसले गर्दा स्वयंसेवी रक्तदातामा निराशा पैदा हुनेछ र फलस्वरूप रक्तदाताको संख्यामा कमी हुँदै जाने छ । रगत शरीरमा रहेको रातो तरल पदार्थ हो । यो प्लाज्मा र रक्त कोषहरुको समिश्रणबाट बनेको हुन्छ । यसको अभावमा मानव जीवनको कल्पना गर्न नै सकिदैन तसर्थ विश्व रक्तदाता दिवसका अवसरमा स्वयंसेवी रक्तदाताको रगतको सहि सदुपयोग गरी सहि ठाउँमा प्रयोग गर्न सक्नुपर्दछ । अन्यथा रक्तदाताहरुले प्रदान गरेको रगतको दुरुपयोग हुने सम्भावना रहन्छ ।