Shittalpati
युवाको असन्तोषलाई सम्वोधन गर

कोरोना भाइरसको संक्रमण रोक्ने सरकारका कामको सर्वत्र आलोचना भइरहेको बेला युवा वर्ग त्यसको विरोधमा उत्रिएका छन् । युवाहरु विगत केही दिनदेखि देशका मुख्य–मुख्य शहरहरुमा स्वस्फूर्त प्रदर्शनमा उत्रिएका छन् । सामाजिक सञ्जालमार्फत् स्वस्फूर्त ‘कोभिड–१९ इनफ इज इनफ’ अर्थात् ‘अब त अति भयो’ अभियानमा उत्रिएका युवा–युवतीहरुले कोरोना नियन्त्रणको नाममा भएको १० अर्ब रुपैयाँको पादर्शिता, ‘क्वारेन्टाइन’को व्यवस्थापन, ‘पीसीआर’ परीक्षण बढाउनुपर्ने, औषधि तथा उपकरण खरिदमा भएको भ्रष्टाचार, चिकित्सकलाई आवश्यक सुरक्षा उपकरण उपलब्ध नभएको, ‘एमसीसी’ सम्झौता खारेजी, जबर्जस्ती रुपमा थोपरिएको कर खारेजील गायतका माग राख्दै प्रदर्शनमा उत्रिएका छन् ।

कुनै पनि राजनीतिक संगठनको संलग्नता नभएको तथा कुनै व्यक्ति वा समूह विशेषको नेतृत्व नभएको यस्तो प्रदर्शन नेपालका सन्दर्भमा नौलो र अनौठो खालको छ । कोरोना संक्रमणको जोखिम छँदाछँदै पनि सामाजिक दूरी कायम गरेर अनुशासित प्रदर्शन भइरहेको छ र सरकारी धम्कीलाई समेत बेवास्ता गर्दै जारी प्रदर्शनले नेपालको राजनीतिक शक्तिलाई समेत चुनौती दिइरहेको छ ।
आजका युवामा राजनीतिक चेतना छैन, खाली मनोरञ्जनमा रमाउँछन्, सामाजिक सञ्जालले एकांगी र असामाजिक बन्दै छन्, बेपरवाह र लापरवाह छन् जस्ता आरोप लागिरहेका सन्दर्भमा उनीहरूले जिम्मेवार बनेर सरकारका गलत कामप्रति औंला ठड्याएका छन् । यो अत्यन्त प्रशंसिनय छ । त्यतिबेला युवाहरू सडकमा ओर्लिएका छन्, जतिबेला सरकारका गलत कामप्रति प्रतिपक्षसमेत करीब करीब मौन छ ।

युवापुस्ताले राजनीतिज्ञलाई सराप्छ मात्रै, राजनीतिक दर्शन र कुरा बुझ्दैन, विश्लेषण गर्ने आलोचनात्मक क्षमता राख्दैन भन्ने केही सामाजिक विश्लेषणकको विश्लेषणलाई अहिलेको प्रदर्शनले गलत सावित गरिदिएको छ । प्रदर्शनले कोरोना महामारीका बीच सरकारले महामारी नियन्त्रण र सर्वसाधारणको पीडामा देखाएको रबैया र व्यवहारप्रति जनता खुसी छैनन् भन्ने प्रस्ट संकेत गरेको छ । यसलाई समयमै नबुझ्ने हो भने सरकारले आगामी दिनमा यस्ता सडक प्रदर्शन अझै धेरै सामना गुर्नपर्ने र भयावह परिणाम भोग्ने निश्चित छ । तसर्थ बेलैमा युवा असन्तोषलाई सरकार, राजनीतिक दल र समाजले सम्बोधन गर्न जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update