सरकारी होस् वा निजी सबै क्षेत्रका व्यवस्थापन तहका व्यक्तिहरूले देश–विदेश भ्रमण, तालिम र गोष्ठीहरूबाट धेरै नयाँ ज्ञान, सीप र तौरतरिका सिकेका हुन्छन्, तर, त्यस्ता विषयहरू आफ्नो संस्थामा आत्मसात् गर्ने र गराउने प्रचलन रहेको देखिदैन । नेपालमा हरेक क्षेत्रमा पेशागत इमानदारिता एकदमै न्यून छ । यसका पछाडी व्यवस्थापन पक्ष नै मुख्य रूपमा जिम्मेवार रहेको देखिन्छ । मानिसहरुमा आफुसँग भएको ज्ञान, सीप र दक्षता हस्तान्तरण गर्ने प्रवृति नै छैन । जसले गर्दा अन्य व्यक्तिहरुले सीप सिकेर दक्ष बन्ने अवसर नै पाउँदैनन् । व्यवस्थापन पक्षले कर्मचारीलाई र कर्मचारीले व्यवस्थापनलाई पूर्ण रूपमा विश्वास गर्ने परिपाटी नै छैन भन्दा अत्युक्ति नहोला । देशले सरकारी कर्मचारीको व्यवस्थापन समेत गर्न सकेको छैन ।
जनशक्तिको विकास र व्यवस्थापन कुनै निश्चित संस्थाको परिधिभित्र सीमित गर्न सकिने विषय होइन । एउटा परिवारदेखि समाज हुँदै देश नै सुखी र समृद्ध बनाउन जनशक्तिको विकास र व्यवस्थापन महत्वपूर्ण छ । यस अर्थमा मुलुकको समग्र जनसंख्यालाई कसरी सार्वजनिक सेवा, अनुसन्धान, उत्पादन लगायतका क्षेत्रमा परिचालन गर्ने भन्ने विषय नै जनशक्ति व्यवस्थापन हो । देश विदेशमा गरेर नेपाली ऊर्जाशील युवाहरूको संख्या उल्लेखनीय मात्रामा भएपनि त्यसको व्यवस्थापनमा सरकार भने असफल देखिन्छ । परिणामस्वरूप काम गर्ने उमेर समूहका युवाहरू पढाई र रोजगारीको बहानामा विदेशिने प्रवृत्ति व्यापक बनेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थक बनाउन जनशक्ति विकास र व्यवस्थापनको सवाल चुनौतीका रुपमा देखा परेको छ ।
जसका कारण कुनै निकायमा जनशक्तिको अभाव छ त कुनैमा आवश्यकताभन्दा बढी जनशक्ति रहेको छ । भएको जनशक्तिलाई पनि सही किसिमले परिचालन गर्न सकिएको छैन् । सरकारले देशको विकासलाई अगाडि बढाउने हो भने भएका जनशक्तिको समस्या पहिचान गरी समाधान गर्न सक्नुपर्छ । देशमा मानव संसाधनको विकास र व्यवस्थापनमा योजनावद्ध नीति र कार्यक्रमकै अभाव छ । मानव संसाधनको क्षेत्रमा अहिले जे–जति विकास र प्रगति भएको छ, त्यो सबै प्राकृतिक मात्रै हो भन्दा फरक नपर्ला । यसलाई योजनावद्ध विकासका रूपमा कसैले दावी गर्छ भने त्यो गलत हो ।