पछिल्लो समय नेपाली समाजमा दिनहुँजसो यौनजन्य आपराधिक घटना भइरहेका हुन्छन् । घर, विद्यालय, यातायातका साधन, कार्यस्थल जुनसुकै क्षेत्रमा पनि यसको असर परिरहेको छ । अपरिचित व्यक्तिमात्र होइन आफन्त, विद्यार्थी, वृद्ध, बालिका, मानसिक सन्तुलन गुमाएका, सडक जीवन व्यतित गरिरहेका साथै एउटै कार्यस्थलमा सँगसँगै काम गर्ने सहकर्मी पनि यौनजन्य हिंसाबाट पीडित भइरहेका छन्, भने कतिपयले मानसिक सन्तुलन गुमाउन पुगेका छन् । यो अत्यन्त दुखद्को कुरा हो । यौन दुव्र्यवहार भनेको महिलामाथि गरिने यौनजन्य अवैध, अनैतिक, अनुचित र नाजायज व्यवहार हो । उनीहरूलाई भोगविलासको साधन सम्झेर कुनै पनि प्रकारको यौनजन्य हिंसा गरिनुलाई यौन हिंसा भनिन्छ ।
महिला हिंसा बढ्दै जानु शैक्षिक चेतनाको कमीलाई लिन सकिन्छ । कतिले थाहा पाउँदा त कतिले थाहा नपाएर नै यौनजन्य हिंसा गरिरहेका हुन्छन् । धेरैको बुझाइमा शारीरिक सम्पर्क राख्नुमात्रै यौन हिंसा हो । तर यौनजन्य कुराहरू गर्नु, नराम्रो नियत राख्नु, छुन खोज्नु, अपशब्द बोल्नु पनि यौनजन्य हिंसा नै हो । चेतनाको अभाव, कमजोर सरकारीतन्त्र, मदिराजन्य पदार्थको खुल्ला विक्रीवितरण र प्रयोग, विज्ञापन आदिमा महिलाहरूको अर्धनग्न प्रदर्शन, सामाजिक सञ्जालमा आएका विकृति, पारिवारिक बेमेल, बहुविवाह, बाल विवाह, अन्तरजातीय विवाह, रुप तथा धनसम्पत्तिको प्रलोभनमा परेर पनि हिंसाका घटनाहरू बढिरहेको बताइन्छ । हिजोआज हरेक क्षेत्रमा महिलाले असुरक्षा महशुस गरिरहेका हुन्छन् । बालिका हुन् या वृद्धा जुनसुकै उमेर समूहका महिला आफ्नै परिवारमा पनि सजग र सतर्क नरहने हो भने जुनसुकै समयमा शिकार बन्न सक्छन् ।
आफ्नै बाबुबाट छोरी बलात्कृत भएका घटना पनि सञ्चारका माध्यमबाट आउने गरेका छन् । आफ्नै हजुरआमालाई बलात्कार गरी हत्या गरेका घटना पनि नघटेका होइनन् । कामदारको रूपमा रहने महिलाको अवस्था त झनै दयनीय रहेको पाइन्छ । मार्गदर्शकको भूमिका निर्वाह गर्नुपर्ने शिक्षकबाट पनि विद्यार्थीहरू यौनहिंसामा परिरहेका छन् । पारिवारिक सदस्यबीच यस्ता विषयमा खुलेर कुरा राख्न नसक्ने र सामाजिक रूपमा इज्जतसँग तुलना गर्ने परिपाटीले गर्दा यौनजन्य हिंसामा न्यूनीकरण आउन सकेको छैन । यसर्थ सबैले खुलेर आफू यौनजन्य हिंसामा परेको भन्नेलाई सम्मान गरी पीडकलाई कानुनी कठघरामा ल्याउने र यौनजन्य हिंसा गर्ने व्यक्तिलाई तिरस्कृत गर्न सके यौन हिंसाको अन्त्य गर्न सकिन्छ ।