Shittalpati
पाल्पा–काठमाडौं भर्चुअल कवि गोष्ठी

पाल्पा । पाल्पा साहित्य समाज र पाल्पाली संगम साहित्य विभाग काठमाडौंको संयुक्त आयोजनामा भर्चुअल कवि गोष्ठी भएको छ । बन्दाबन्दीका बेला नेपाली साहित्यको श्रीवृद्वि गर्ने उद्देश्यले भर्चुअल कवि गोष्ठी आयोजना गरिएको पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मीले बताए ।

गोष्ठीमा काठमाडौंबाट गोपीकृष्ण शर्मा,भागिरथी श्रेष्ठ, प्रा.डा. सावित्रा कक्षपति, अजम्वरध्वज खाती, शान्त शाक्य, विनोद नेपाल, कमला देवकोटा, नैना ढकाल, मञ्जु ढकाल, जनार्दन अधिकारी र सीता विष्ट कार्की (सीविका)को सहभागिता रहेको थियो । त्यस्तै गोष्ठीमा पाल्पाबाट राजेन्द्र गोपाल सिंह, पुष्कर अथक रेग्मी, महेन्द्र पन्थी, पुरुषोत्तम अर्याल, कमल खत्री, शालिकराम पाण्डे, चन्द्रकान्त न्यौपाने, गोविन्द खनाल, जानका नेपाल सुशिला नेपाल, विष्णु पन्थ, गंगा अर्याल र शुभेच्छा अर्याल लगायतको सहभागिता रहेको थियो । सहभागी श्रष्टाहरुले कविता, गीत, गजल, दर्शन वाचन गरेका थिए । सिर्जना कोरोना नियन्त्रण, देशको मर्म, सामजिक विकृति, विसंगती, समसामयिक, एवं व्यङ्यात्मक रहेका थिए ।

गोष्ठीको शुभारम्भमा पाल्पा साहित्य समाजले रजत महोत्सवको भिडियो प्रदर्शन गरेको थियो । गोष्ठीमा प्रमुख अतिथि तथा वरिष्ठ साहित्यकार गोपीकृष्ण शर्माले भोर्चुअल कार्यक्रम आफैमा प्रशंसनिय रहेको भन्दै पाल्पाली संगम र पाल्पा साहित्य समाजले गरेको संयुक्त कवि गोष्ठी ऐतिहासिक दस्तावेजको रुपमा रहने बताए । उनले इन्टरनेटको माध्यमबाट जमघट भई गोष्ठीमा सहभागी हुन पाउँदा जीवनको उत्तराद्र्धमा साहित्यको अर्को युगमा प्रवेश गरेकोमा खुसी प्रकट गरे । विशिष्ट अतिथि पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहले काठमाडौं र पाल्पा बिच सुमधुर सम्बन्ध स्थापित गर्दै पुराना, मध्यम र नयाँ पुस्ताहरु बिच साहित्यक भेटघाट भएकोमा आफु गौरवान्वित भएको बताए । पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कराज रेग्मीले समाजले अगामी दिनहरुमा अझ समायानुकल रचनात्मक कार्यक्रमहरु गर्दै जाने बताए । कवि गोष्ठी समाजका अध्यक्ष रेग्मीको अध्यक्षता, पाल्पाली समाज साहित्य विभागका प्रमुख सीता विष्ट कार्की (सीविका)को सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update