हरेक वर्ष जुन २० का दिन विश्व शरणार्थी दिवस मनाउने गरिएको छ । आज पनि विश्व भर यो दिवस मनाउन लागिएको छ । सन् १९५१ मा जारी भएको शरणार्थी सम्बन्धी घोषणा पत्रको ५० वर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा बसेको संयुक्त राष्ट्रसंघको साधारणसभाले २००१ जुन २० देखि विश्व शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो । त्यसयता हरेक वर्ष शरणार्थी सम्बन्ध राष्ट्र संघीय उच्च आयोगको अगुवाईमा दिवस मनाउने गरिएको छ । सामान्यतया आफ्नो जन्मभूमिबाट आन्तरिक वा बाह्य कारणले लखेटिएर अर्को मुलुकमा आश्रय लिन पुगेका व्यक्ति नै शरणार्थी हुन । शरणार्थी बन्नु रहर नभई बाध्यता हो । संसारमा द्वन्द्वले आक्रान्त र गरिब देशहरूमा यो समस्या दिन प्रतिदिन वृद्धि हुँदै गएको छ । शरणार्थी समस्या कायम रहेका मुलुकहरूमा टर्की, सिरिया, अफ्गानिस्थान, जोर्डन, इजरायल, चेक रिपब्लिक, स्लोभाकिया, इरान, इराक, अल्जेरिया, म्यानमार लगायत नेपालजस्ता देशहरू पर्दछन् । नयाँ आश्रयको खोजीमा हिँड्नेहरुको रोजाइमा नेपाल पनि पर्ने गरेको छ ।
नेपालमा अहिले झण्डै २० हजार शरणार्थी रहेको अनुमान छ । ६ दशक भन्दा बढी समयदेखि नेपालमा शरणार्थीको संख्या बढ्न थाले पनि अहिलेसम्म नेपालले शरणार्थी सम्बन्धी राष्ट्र संघीय अभिसन्धीमा हस्ताक्षर पनि गरेको छैन । यो अत्यन्त दुखको कुरा हो । कुनै पनि देश चाहे धनी वा गरिब होस्, सो मुलुकले सार्वभौमसत्ता सम्पन्न, आधारभूत मानव अधिकारको प्रत्याभूति हासिल गर्ने ध्येय लिएको हुन्छ । शरणार्थी मामिलाले यस्ता विषयमा पेचिलो चुनौती सिर्जना हुने गर्दछ । समस्या र चुनौतीलाई निरूपण गर्न जरुरी हुन्छ । विश्वव्यापीकरणका कारण मुलुकहरूमा विभिन्न अवसर तथा फाइदाको सिर्जना मात्र भएको छैन शरणार्थी समस्या तथा यसको व्यवस्थापन पनि यसैको उपज हो भन्नुपर्दा असहज हुँदैन । नेपालमा शरणार्थी व्यवस्थापन चुनौतीपूर्ण विषय बन्दै गएको छ । शरणार्थीहरु विगत दुई दशकभन्दा बढी अवधिदेखि पूर्वी नेपालको झापा जिल्लाको बेलडाँगी र मोरङको शनिश्चरे शिविरमा नेपाल सरकार, गृहमन्त्रालय, युएनएचसीआर र आइओएमको संयुक्त सहयोगमा अस्थायी शिविरमा अझै पनि बस्न बाध्य छन् । यसर्थ शरणार्थीको पक्षमा काम गर्ने संघसंस्थाहरु आश्रयको खोजीमा रहेका, राज्य विहीन मानिसहरु तथा शरणार्थी जीवन बिताएर आफ्नो ठाउँ फर्किएका अनि शरणार्थी बन्ने जोखिममा रहेकाकोहरुको हकका लागि एक जुट हुन जरुरी छ ।