काठमाडौं, प्रतिनिधिसभाको सभामुखका लागि नेकपाबाट मात्रै उम्मेदवारी परेको छ । १२ गते हुने चुनावका लागि नेकपाबाट सांसद अग्निप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । पूर्वसभामुख एवम् नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङको प्रस्ताव र प्रमुख सचेत देव गुरुङ्ग,पूर्वसभामुख ओनसरी घर्ती र राजपाका सांसद लक्ष्मणलाल कर्णको समर्थनमा सापकोटाले उम्मदवारी दर्ता गराएका हुन् ।
संसद् सचिवालयले मंगलबार बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो । आइतबार बसेको नेकपाको सचिवालय बैठकले स्थायी कमिटी सदस्य सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तत्कालीन सभामुखले पदबाट राजीनामा दिएपछि चार महिनादेखि सभामुख पद रिक्त रहँदै आएको छ । उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा अन्य कुनै पनि पार्टीबाट उम्मेदवारी नपरेको संघीय संसद सचिवालयले जनाएको छ । यो सँगै सापकोटा सभामुख बन्ने पक्का भएको छ ।