योगले मानिलाई स्वस्थ राख्न मद्दत पुर्याउँछ । योगले शरीर स्वस्थ राख्नुको साथै मानसिक शान्ति पनि प्राप्त हुन्छ । प्राचीनकालमा योगकै कारणले कतिपय ऋषिमुनीहरु अध्यात्मिक शक्ति प्राप्त गरेका उदाहरणहरु प्रशस्तै छन् । विश्वमा नै योग प्रमुख आवश्यकता बन्दै गएको छ । सबैलाई थाहा नहुनसक्छ, नियमित रुपमा योग गर्नाले जीवनमा कहिल्यै पनि औषधि खानु पर्दैन । चिकित्सकलाई धाइरहनुपर्दैन । त्यसैले योगलाई सबैले व्यवहारिक जीवनमा अपनाउन जरुरी छ । योगले निरोगी बनाउँछ शरीरलाई आकर्षक बनाउन, शान्त चित्त र राम्रो स्वास्थ्यका लागि अन्य कुनै उपाय अपनाउनु पर्दैन ।
योग नै एक राम्रो माध्यम हो । हुनतः योगलाई आसनसँग जोडेर हेर्ने गरिन्छ । तर योग आसन मात्र नभई शरीर र मनलाई जोड्ने काम पनि गर्दछ । अहिले विश्वको जनजीवन कोरोना (कोभिड–१९) भाइरसका कारण अस्तव्यस्त छ । नेपाल अहिले संक्रमणको दोस्रो चरणमा छ । संक्रमितको सख्या दिनप्रतिदिन बढदै गएको छ । यो भयावह स्थितिका कारण मानिस केही त्रसित पनि भइरहेका छन् । यस लकडाउनका अत्यासलाग्दा दिनहरुमा आफूलाई शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आत्मिक आन्नदको अनुभूत गर्नका लागि आत्मविश्वासका साथ घरमै बसेर योग गर्नु उपयुक्त हुन्छ ।आत्माको परमात्मासँगको मेल नै योग हो । शारिरीक रुपमा स्वस्थ रहनका लागि हरेक वर्षको २१ जुनमा विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । आज पनि विश्वभर योग दिवस मनाउन लागिएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार पूर्ण रुपमा स्वस्थ हुन शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रुपमा समेत स्वस्थ हुनुपर्ने व्याख्याले योगको महत्व अझ बढाउँदछ । शरीर, इन्द्रिय, मन र आत्माको संयोग नै आयु हो । विभिन्न मानसिक विकारहरुलाई नियन्त्रण गर्दै चेतनाको विस्तार गर्दै आत्मा र परमात्माको मेल गराउँदा, योगमार्फत शान्ति प्राप्त हुन सक्छ । तसर्थ कोरोना महामारीको विषम परिस्थितिमा स्वस्थ व्यक्ति, समाज, राष्ट्र र विश्वमा नै शान्ति, सहिष्णुता, एकता, मानवता र भातृत्वको भावना जागृत गर्न दिनहुँ योग गरौं ।