Shittalpati
बाढी पहिरोको कहर

केही दिनदेखि परेको अविरल वर्षाले देशैभर बाढीपहिरोको कहर छाएको छ । नेपालमा मनसुन भित्रिएसँगै मौसमी गतिविधि बढ्न थालेको छ । बाढी पहिरोका कारण विशेष गरी तराई र पहाडी जिल्लाहरु बढी प्रभावित भएका छन् । शुक्रबार राति आएको अविरल वर्षाका कारण पाल्पा र गुल्मीमा पनि ठूलो क्षति पुगेको छ । पाल्पामा अविरल वर्षाका कारण अधिकास ग्रामीण सकडहरु अवरुद्ध हुनुको साथै घर गोठमा क्षति पुगेको छ । वर्षाका कारण पाल्पाको निस्दी गाउँपालिका ४ मा एउटा घर भत्किएको छ भने, रिब्दीकोट गाउँपालिका ४ हटियामा पहिरोले पुरिएर भैसीको पाडी मरेको छ । गुल्मीमा पनि सडक माथिबाट खसेको पहिरोले गुडी रहेको जिपलाई पुर्दा गाडीमा सवार दुई जनाको मृत्यु भएको छ । यि त केही प्रतिनिधि घटना मात्र हुन् । अवरिल वर्षाले किसानले लगाएका अन्नवालीमा समेत ठूलो क्षति पुगेको छ ।

कयौं ग्रामीण क्षेत्रका वस्तीहरु समेत बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । सरकारले एकीकृत बस्तीको अवधारणा बनाउन नसकेका कारण वर्षेनि पहिरो र बाढीको कहर दोहोरिने गरेको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय हुँदा साँझ–बिहान र रातिको समयमा बढी वर्षा हुने भएकाले सतर्कता अपनाउन अनुरोध गर्दै आएको छ । बाढी पहिरो जस्ता प्राकृतिक विपत्ति संकेत दिएर आउँदैनन् । तर, कतिपय विपत्तिको पूर्वानुमान गर्न नसकिँदा ठूलो जनधनको क्षति भएका थुप्रै दृष्टान्त छन् । नेपाली जनताले भूकम्प, बाढीपहिरो, हुरीबतास, खडेरी, आगलागी, चट्याङ, शीतलहर, विभिन्न दुर्घटना जस्ता प्रकोपको निरन्तर सामना गर्दै आएका छन् । यस्ता प्रकोप आउनुपूर्व नै सम्भावित पक्षकोे लेखाजोखा गरेर विपद्को सामना गर्न क्षमता अभिवृद्धि गर्न सकिए ठूलो जनधनको क्षति कम गर्न सकिन्छ ।

प्रकोप र सम्भावित विपद्बारेमा समुदायस्तरमा समयमै चेतना अभिवृद्धि गर्ने र पर्याप्त सावधानी अपनाउने कार्य नै विपद् व्यवस्थापन हो । विपद् व्यवस्थापनमा स्थानीय तहको विशेष भूमिका रहने भएकाले विपद्को समयमा तत्काल आइपर्ने असामान्य परिस्थितिको सामना गर्न आपतकालीन योजना बनाउने तर्फ स्थानीय सरकारले ध्यान दिनुपर्दछ । विपत्तिलाई टार्न नसकिए पनि जोखिम कम गर्ने उपाय भने अवलम्बन गर्न सकिन्छ । तसर्थ यसतर्फ समयमै पूर्वसतर्कता अपनाउनु जरूरी छ ।

प्रकाशित मिति: सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update