विद्यालय बन्द भएको तीन महिना बितिसकेको छ । लकडाउन क्रमशः खुकुलो हुँदै गएपनि विद्यालय कहिलेदेखि खुलाउने भन्ने अन्योलका कारण शैक्षिकसत्र नै धराशायी हुने त्रास बढेको छ । लामो समयसम्म अन्योलमा रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ढिलै भए पनि वैकल्पिक माध्यमबाट पढाउन सुरु गरेको छ । यो अत्यन्त प्रशंसिनय छ । यो कार्यक्रम मार्फत दैनिक विद्यालय गएर पढेको भन्दा फरक शैलीबाट विद्यार्थीलाई सिकाउन खोजिएको छ । सरकारले अनलाइन, रेडियो, टेलिभिजन र अन्य माध्यमबाट पठन–पाठनको व्यवस्था गरेको छ । इन्टरनेटको सहज पहुँच भएका क्षेत्रमा विद्यालयहरूले अनलाइन कक्षा चलाउन सक्छन् । यस्तो कक्षा पछिल्लो समय सिकाइको भरपर्दो वैकल्पिक माध्यम बनिसकेको छ । सहर–बजारमा इन्टरनेटको पहुँचमा भएका विद्यार्थीका लागि यस्तो माध्यमबाट सिकाइ प्रभावकारी हुन सक्छ । समस्या त त्यहाँ छ, जहाँ इन्टरनेट चल्दैन ।
मुलुकमा झण्डै एक तिहाई नागरिक अझै इन्टरनेटको पहुँचमा छैनन् । कति क्षेत्रमा त इन्टरनेट नाम मात्रको चल्छ, त्यति सुस्त गतिमा कक्षा सञ्चालन गर्न सकिँदैन । यस्तो अवस्थामा पालिका तथा विद्यालयहरूले आफ्ना विद्यार्थीको सञ्चार माथिको पहुँचबारे आधारभूत सर्वेक्षण गर्नुपर्छ र कुन माध्यमबाट कसरी कक्षा सञ्चालन गर्ने भन्ने निक्र्योलमा पुग्नुपर्छ । स्थानीय सरकारहरुले अगामी आर्थिक वर्षका लागि नयाँ नीति, कार्यक्रम तथा बजेट ल्याउदै छन् । त्यसमा स्थानीय सरकारले भौलिक बनावटलाई हेरेर वैकिल्पक शिक्षालाई प्राथमिकता दिनुपर्दछ । निजी स्कूल सञ्चालकले लकडाउन सुरु हुने बित्तिकै आफ्ना विद्यार्थीलाई फोन, सन्देश तथा सम्भव भएसम्म प्रत्यक्ष भेटेर पनि उनीहरूको अवस्थाबारे जानकारी लिएका छन् । सोही आधारमा विद्यार्थीलाई अनलाइन माध्यमबाट कक्षा सञ्चालन गरिरहेका छन् ।
निजीमा पढ्ने विद्यार्थीको भन्दा फरक पारिवारिक पृष्ठभूमि भएका कारण सामुदायिक विद्यालयले आफ्ना विद्यार्थीलाई त्यसरी सम्पर्क गर्न सकेनन् । तर पनि अहिलेको परिस्थितिमा विद्यार्थी सिकाइका लागि उपयुक्त विकल्प खोज्नु पर्दछ । सरकारले ल्याएको कार्यक्रममा सबै क्षेत्रका विद्यार्थीहरुको पहुँच नपुग्न सक्छ । जहाँ टेलिभिजन र रेडियोबाट पढाउन सम्भव हुँदैन, त्यहाँ टेलिफोनको प्रयोग गर्न सकिन्छ । विद्यार्थीहरू आफ्ना अभिभावकको मोबाइल फोन प्रयोग गर्न सक्छन् । घरमा मोबाइल नहुने विद्यार्थीका लागि पालिका वा विद्यालयले व्यवस्था मिलाउन सक्छन् । कतै व्यक्तिगत दूरी कायम गर्दै शिक्षक नै विद्यार्थीहरू भएको स्थानमा पुगी सहजीकरण गर्न सकिन्छ । तसर्थ विद्यार्थीहरुको प्राथमितालाई ध्यानमा राखी पढाइको वैकिल्पक माध्यमलाई प्राथमिकता दिनु पर्दछ ।