नेपाल वर्षेनी प्राकृतिक प्रकोप वा विपद्को चपेटामा पर्ने गर्छ । बाढी पहिरो आउनु अत्यन्तै सामान्य प्राकृतिक कुरा हो । यो हरेक वर्ष आइरहन्छ । पूर्ण मनसुन शुरु भएको त छैन, त्यही पनि बाढी र पहिरोले मानिसहरूलाई अत्याइसक्यो । बर्खाको शुरुवातमै बाढी पहिरोका कारण थुप्रै धनजनको क्षति भएको छ । तराई–मधेश, पहाड, हिमाल सबै क्षेत्रका मानिस प्रभावित छन् । हरेक वर्षझैं यस वर्ष पनि प्राकृतिक प्रकोपको पीडा बल्झिएको छ । पहाडमा पहिरोका कारण घरबास, धनजनको नोक्सानी बेहार्नुपरेको छ । कतिपय ठाउँमा सवारी आवागमनमा बाधा पुगेकाले दैनिक जनजीवन प्रभावित हुन पुगेको छ । जनताको दैनिकी यति विधि प्रभावित र कष्टकर हुँदा सरकार उदासीन मात्रै होइन, लार्पवाह पनि देखिएको छ । जनता एकातिर कोरोनाको महामारीसँग जुदी रहेका छन् भने अर्को तर्फ बाढी पहिरोको कहर खेपिरहनु परेको छ ।
आइतबार र सोमबार मात्र पाल्पा र गुल्मीमा पहिरोका कारण पाँच वटा सवारी साधनमा क्षति र छ जना व्यक्तिको ज्यान समेत गएको छ । सोमबार पाल्पाको तानसेन नगरपालिका वडा नं. ११ सम्मोबारीमा पहिरोमा पुरिएर चार जनाको ज्यान जानुको साथै चार गाडी पुरिए । गुल्मीको धुर्कोट गाउँपालिका वडा नं. ३ हाडहाडेमा पनि आइतबार पहिरोले गाडी पुर्दा २ जनाको ज्यान गयो । त्यस्तै सोमबार नै पाल्पाको रम्भा गाउँपालिकाको हुँगीमा बाढीले बगाउँदा एक महिलाको मृत्यु भयो । यि त केही प्रतिनिधि घटना मात्रै हुन् । पहिरोका कारण पहाडमा अधिकांश घरहरु जोखिममा रहेका छन्, भने केही घर गोठ भत्किएर मानविय र पशुचौपायाहरुको क्षति भएको छ । यस्ता दर्दानाक घटनाहरु नेपालीहरुले वर्षेनि खेप्नु परेको छ । बाढी र पहिरो प्राकृतिक प्रकोप हो । प्रकोप या विपत्ति प्रकृतिसँग जोडिएको हुन्छ । यसलाई चाहेर पनि पूर्ण रूपमा रोक्न सकिँदैन । तर प्राकृतिक प्रकोपको जोखिमलाई भने रोक्न सकिन्छ । पहिरोका उच्च जोखिम रहेका स्थानहरुमा बोटविरुवा लगाउने, तत्कालै त्यस्ता जोखिम भएका वस्तीहरुलाई स्थानान्तरण गर्ने, वर्षा परिरहेको बेला यात्रा नगर्ने जस्ता कुराहरुमा ध्यान दिन सके जोखिमबाट हुन सक्ने क्षतिलाई केही हदसम्म भए पनि रोक्न सकिन्छ । तसर्थ उच्च जोखिममा रहेका बस्तीहरूलाई जोगाउने काममा समयमै सतर्कता अपनाउने गरौं । बाढी पहिरो र डुबानमा परेका नागरिकहरूलाई राहत र उद्दार गर्ने काममा सक्रियताका साथ लागौं । पूर्ण वर्षा सुरु हुन अझै बाँकी छ, सम्भावित खतरा आउन नदिन सबै सचेत र सजक बनौं ।