Shittalpati
कोभिड विरुद्ध स्थानीय सरकार : सकस, साहास र सम्झौता

कोभिड–१९ (कोरोना) को विरामी टेकु अस्पतालमा भर्ना भयो भन्ने थाहा पाउदाँ आफुसँग भएका एन ९५ ओरिजिनल माक्स सबै सक्काइयो, आज कहिल्यै नदेखेको केएन ९५ को भरमा पिसिआर र आरडिटी गरिदैछ र अब समुदायमा कोरोना फैलिनु सँगसंगै मरणोपरान्त कारण खोज्न बाहेक अन्यथा परीक्षण नहुने दिन नजिकिदै छ जस्तो आभास भइरहेको छ । यस्तो अवस्थामा स्थानीय तहहरुले समुदायमा संक्रमण हुनबाट जोगाउन केही उपायहरु अपनाउनु जरुरी छ । प्रदेश वा संघीय सरकारको सहयोग, उचित सहकार्य र लागु गर्न सकिने खालको योजना तयार भएमा हामी कोभिड १९ लाई स्थानीय सरकारको संघारबाटै फर्काउन सक्षम हुने छौं । यसर्थ कोभिड विरुद्ध स्थानीय सरकारको अवस्था, चाल्नुर्पे कदमका विषयमा यहाँ चर्चापरिचर्चा गर्ने प्रयास गरिएको छ ।

स्थानीय सरकारहरु उपयुुक्त स्थानमा जनस्वास्थ्यको दरवन्दी खालि हुदाँ सबैभन्दा ठूलो सकसमा परेका छन् । स्थानीय तहको स्वास्थ्य शाखा समाल्ने प्राय जनशक्ति अहेव र हेअ मात्र छन् । यो माहामारी निर्देशन बमोजिमका गतिविधि सञ्चालन गर्न अव्यस्त कर्मचारीले फरक सोच र योजना बनाउन पाइदैन कि भन्ने डर नै स्थानीय तहका स्वास्थ्य शाखाको कमजोरी हो । माहामारी व्यवस्थापनमा मध्यम स्तरको जनशक्तिले तयारी गरिएका योजना अन्तर्गतका कार्यक्रम गर्नसक्ने क्षमता राख्दछ तर व्यवस्थापकीय योजना बनाउन र समुदाय परिचालन गर्न अलिक अप्ठ्यारो पर्दछ । फलस्वरुप जनस्वास्थ्यले गर्नुपर्ने विशेष निर्णयहरु स्थानीय तहका प्रशासन तथा जनप्रतिनिधि मण्डलले गर्नुपर्ने वाध्यता हुन्छ । फरक क्षेत्रबाट गरिने अपरिपक्क निर्णयले माहामारी व्यवस्थापनमा चुक्नुपर्ने र ठूलो धनजनको क्षतिहुने प्रायः निश्चित छ । सिंगो समुदायलाई संक्रमणबाट जोगाउन व्यवस्थित क्वारेन्टाइन बनाउनेदेखि पोजेटिभ र संकास्पद केसहरुको गतिलो व्यवस्थापनमा स्थानीय तहहरुको एकरुपता नहुदाँ कुनै स्थानीय तह कठोर भइरहेका छन् भने कुनै स्थानीय तहहरु क्वारेन्टाइन भित्रकै अतर संक्रमणको सिकार भएको पाइएको छ । माहामारी आफैमा एक अदभुत सिकाइ रहेछ, हरेक व्यक्ति आफैले गल्ति गरेर सिक्नुपर्ने स्थिति नभएको वर्तमान परिवेशमा हामीहरु अन्य स्थानमा भएका कमजोरीहरु आफ्नो स्थानीय तहमा दोहोरिन नदिने गरी अगाडि बढेमा कम भन्दा कम मानविय क्षतिसहित कोरोना भाइरसको संक्रमण बाट पार पाउने छौं अन्यथा संक्रमण फैलिएमा हुने हानि हामीले आँकलन गरेभन्दा खराब हुनेछ । कहिल्यै नसुनेको नाम आइसोलेशन र क्वारेन्टाइन अहिले सामान्य मानिसले समेत सजिलै वुझ्न थालेका छन । प्रमुख जिल्ला अधिकारी अध्यक्ष हुने र सम्पूर्ण सूरक्षा जिम्मा सेनालाइ दिने भनिएका क्वारेन्टाइनहरु आज स्थानीय वडाका वडा अध्यक्ष तथा निर्वाचित वडा सदस्यहरुले सहर्ष हाँकिरहेका छन् । संकास्पद विरामी हेर्न स्थानीय स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु कत्ति पनि हिचकिचाएका छैनन् । एउटै विरामी हेर्दा ठनठनी काँपेका कोरोना विशेष अस्पतालको तुलना दशौ कोरोना पोजेटिभ केशहरु महिनौ फेस गर्ने क्वारेन्टाइन व्यवस्थापन टिम (स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वयमसेवक र सूरक्षाकर्मी) स्थानीय तहको साहास देख्दा गर्व लागेको छ । व्यावस्थापकिय सम्झौता अरुसँग होइन स्थानीय समुदायसँग कर्मचारीहरुसँग र विशेषत यतिबेला विदेशबाट आउनुहुने व्याक्तिहरुसँग गर्न जरुरी छ । जनस्वास्थ्य समस्याका रुपमा संसार आक्रान्त पार्दै हाल नेपाललाई समेत गाँजिसकेको कोरोना भाइरसले लाग्ने कोभिड–१९ रोगको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा म एउटा स्थानीय तहको अनुभव, समिक्षा तथा योजनाहरु यहाँ प्रस्तुत गर्ने अनुमती चाहन्छु ।

बडिगाडको अनुभव : जम्मा ४९३ जना भारतबाट आएका नागरिकहरुको व्यवस्थापनबाट यो स्थानीय तहले धेरै सिक्यो । ३५८ जनाको पिसिआर चेकजाँचमा २२ जनामा कोरोना संक्रमण पुिष्ट भइसकेको छ । ५८ जनाको स्याम्पल पोखरा पुगेको छ भने ३५ जनाको स्याम्पल कलेक्सन गर्ने कार्य जारी छ । निर्देशन अनुसार केहीलाइ पिसिआर पछि आरडिटी समेत गरी घर पठाइएको छ भने ९७ जनामात्र क्वारेन्टाइनहरुमा सूरक्षित रुपमा हुनुहुन्छ । आवश्यकता अनुसार ७ ओटा पुगेको क्वारेन्टाइनहरु हाल २ ओटामा खुम्चिएका छन् । ४० जना स्व्यमसेवकहरुको संख्या घटाएर १२ जनामा पुर्‍याइएको छ । २२ जना पोजेटिभ मध्य १२ जना निको भइसके बाँकी ५ जना बुर्तिबाङ प्रा.स्वा.के.को प्री आइसोलेशनमा छन् भने ४ जना धौलागीरी अञ्चल अस्पतालमा १ जना घरैमा आइसोलेशन गरिएको छ । स्थानीय तहका १० ओटा वटा छन् । सबै जनप्रतिनिधिहरु सकरात्मकताका साथ प्रत्यक्ष फिल्डमा हुनुहुन्छ तर सबै वडामा क्वारेन्टाइन छैनन् । मानिसहरु घर नजिकको क्वारेन्टाइनमा भन्दा अर्को वडाको क्वारेन्टाइनमा राख्दा धेरै सूरक्षित गर्न सकिदो रहेछ भन्ने हाम्रो सिकाइ हो । कोरोना भाइरस विरुद्धको अभियानमा वडिगाड गाँउपालिकाको सवैभन्दा महत्वपूर्ण कदम भनेको छुट्टाछुट्टै जिम्मेवारी सहित जनप्रतिनिधिहरु २४ घण्टा जिम्मेवार तरिकाले व्यवस्थापनमा खटीनु हो । क्वारेन्टाइन चलाउनुका चुनौतीहरु आफैमा छदैछन्, त्यसैमाथि पोजेटिभ केस म्यानेजमेन्ट बुझिहालिन्छ नि कति जटिल छ । गाउँपालिकामा २२ जना पोजेटिभ देखिदासम्म अस्पताल पुर्‍याउन एम्वुलेन्सहरु चुकेका छैनन् बरु पश्चिमका अन्य पालिकाहरुमा भेटिएका केसहरुमा पनि सहजिकरण गरिरहेका छन् । एम्बुलेन्स चालकहरु स्वास्थ्यकमीसंगै हेल्थपोष्टको क्वारेन्टाइनमा बस्दछन् । हालसम्म छिमेकी ३ ओटा स्थानीय तहका संक्रमितहरु समेत विना हिचकिचावट अस्पताल पुर्‍याउने र फिर्ता ल्याउने सम्मका कामहरु गरिरहेका छन् । गाउँ–गाउँ डुलेर भोलि आउने मानिसहरुको घर पुगेर लत्ताकपडा तथा विभिन्न खानेकुरा र तरकारीहरु जम्मा गर्ने जनप्रतिनिधि ज्यूहरुको टोलि देख्न ज्यान रहेसम्म सेवामा होमिन मन छ । स्थानीयवासिको सहभागीताको यो एउटा उदाहरण वन्ने छ कि उहाँहरु गाँउमा उत्पादन भएका खाद्यान्नहरु गाउँमै पुगेर किनेर ल्याउनुहुन्छ र आवश्यकता अनुसार क्वोन्टाइनहरुमा वितरण गर्नुहुन्छ । प्राय क्वारेन्टाइनकै खाना खानुुहुन्छ र व्यावस्थापकीय कठिनाइ नहोस् भनेर स्वयमसेवक र स्वास्थ्यकर्मीहरुसंगै क्वारेन्टाइन नजिकै सुत्नुहुन्छ । स्वास्थ्यकर्मीहरुलाई दिइएको यो ढाडस अन्यत्र पनि लागु होस् भनेर मैले यहाँ उल्लेख गरेको छु । क्वारेन्टाइनमा पोजेटिभ देखिनुलाई सफलताको रुपमा ल्याइएको छ र समुदायमा संक्रमण जान नदिन भिष्म प्रतिज्ञा गरिएको छ । तरपनि समुदाय संक्रमित भएमा के गर्ने भन्ने योजना पालिकाले तयार पारिसकेको छ । छिमेकी पालिका तथा जिल्लाहरुमा संक्रमण देखिएमा कसरी अगाडि बढ्ने भन्ने पूर्वतयारीमा लागिरहेको छ यतिवेला गाँउपालिका ।

पालिका भित्रका समस्याहरु : गाँउपालिकामा मेडिकल अफिसरको दरबन्दी नहुँदा एसिम्टोम्याटिक केस पनि रिफर गर्नुपर्ने बाध्यता छ । पोजेटिभ केसहरु ठूला चुनौती बनेका छन्, उहाँहरुलाई कता लाने भन्ने विषयमा घरिघरी दुविधा उत्पन्न हुन्छ । गाँउभरी सिरियस विरामीहरु हुँदा के गर्ने होला ? घर –घर बाट विरामी निस्कदा कस्ले बोकेर अस्पताल ल्याउला ? भन्ने चिन्ता छ । तत्काल प्रि आइसोलेशन बनाउनका लागि उचित स्थान र उपयुक्त जनशक्ति नहुनु मुख्य समस्या हो, यो समस्याले अञ्चल अस्पताल तथा आइसोलेशन केन्द्रहरुलाई थप समस्यामा पार्ने छ, सामान्य भन्दा सामान्य विरामी पनि रिफर गर्नैपर्ने बाध्यता छ ।

अन्तरपालिका समस्याहरु : कुनै एउटा पालिकाले राम्रो गर्दैमा संक्रमणबाट जोगिन नसकिने तितो यर्थात् बीच यो पालिकाको विरामी र त्यो पालिकाको विरामी भनि माथिल्ला निकायहरु पन्छिने र क्वारेन्टाइनको व्यवस्थापन गर्ने विषयमा गाइडेन्स नहुदाँ तयार गरिएका संख्यात्मक क्वारेन्टाइनहरुले संक्रमण फैलन सजिलो पार्ने हुन कि भन्ने त्रास छ । जतिधेरै क्वारेन्टाइन संख्या हुन्छन् संक्रमण गाँउ छिर्ने जोखिम पनि त्यसैअनुसार बढ्दै जानेछ । सिआइसि टिटि भन्ने समुहको निर्देशिका बमोजिको गठन नहुँदा पालिकाहरुले जोखिम आँकलन नगरेको महशुस भएको छ । पोजेटिभ केस देखिएको गाडिमासँगै यात्रा गरेर आएका फरक पालिकाका व्याक्तिहरुको समयमै चेकजाँच नहुँदा जानाजान संक्रमण फैलाएको जस्तो हुने छ, त्यसका लागि यो केश अनुसन्धानका टिमहरु अविलम्ब तयार गर्नुपर्ने छ ।
एनजिओ/आइएनजिओ : एनजिओ/आइएनजिओको काम भन्दा पनि माहामारी नियन्त्रण नहुदाँसम्म स्थानीय तहलाई टेकनिकल सपोर्ट गर्नुपर्नेमा उल्टै विदा नै पाएको भन्ने छ । यदि यस्तो परिस्थितिमा कर्मचारी विदा दिने हो भने स्वास्थ्यसँग सम्वन्धित एनजिओ/आइएनजिओहरुलाई परिस्थिति सामान्य भए पश्चात पनि पालिकामा ल्याउनुर्छ जस्तो लाग्दैन । आफु मात्र बाँच्न त सर्वसाधारणहरुलाई सिकाउनु छ, यहाँ त विषयगत क्षेत्रकै कर्मचारीहरु फिल्डमै नआई ज्यान जोगाउन हिडे भन्ने सुनिन्छ । यदि महामारीमा खटाइएको ठाँउमा जाँदैन भने न त आइएनजिओ न त सरकारी कुनै पनि कर्मचारीको जिम्मेवारी पुरा भएन । आवश्यकता अनुसार योग्यता भएका एनजिओ/आइएनजिओका कर्मचारीहरुलाई जिम्मेवारी दिनुपर्ने छ यसले समुदायको संक्रमण रोक्ने क्षेत्रमा राम्रो भूमिका खेल्ने छ ।

स्वास्थ्य कार्यालयले अविलम्व गर्नुपर्ने सहजीकरण : स्थानीय तहमा रहेका क्वारेन्टाइनहरुको व्यवस्थापनमा एकरुपता ल्याउन निर्देशन गनुपर्ने मुख्य काममा कार्यालय चुकेको छ । ४० जना मात्र मानिसलाई २० ओटा क्वारेन्टाइन राख्नु स्थानीय तहको कमजोरी मात्र होइनकी समयमा निर्देशन नहुनु समेत जिम्मेवार हो । जति धेरै क्वारेन्टाइनको संख्या भन्न थालिन्छ त्यतिनै धेरै संक्रमण व्यवस्थापनमा चुनौती हुने छ । हाल आएर भारत बाहेक अन्य देशहरुबाट जिल्ला प्रवेश गर्नेहरुलाई गाँउपालिकाको जिम्मा लगाउने भन्दा एकै ठाँउमा क्वारेन्टाइन गर्ने निर्णय गरेमा संक्रमण नियन्त्रणमा सहजिकरण हुनेछ ।
जिल्ला कमाण्ड पोष्ट : स्वास्थ्य कार्यालय वा जनस्वास्थ्य विज्ञका सूझावलाई मध्येनजर गर्नुपर्नेमा प्रशासन कार्यालयहरु नै हावि हुनु सबैभन्दा भयाभह छ । प्रशासन कार्यालयहरु यतिबेला जनस्वास्थ्यको सुझावलाई मध्येनजर गरी सोहिअनुसार चलेमा मात्र कोभिडको वैज्ञानिक नियन्त्रण सम्भव छ न की प्रशासनका कर्मचारीको धारमा लागेर समाधान आउला । कमाण्ड पोष्टले विदेशबाट आएका र उतै पिसिआर गरेको रिपोर्ट भएकाहरुलाई सोहि रिपोर्टको आधारमा घरमै बस्न भनेछ, यदि त्यसो हो भने उ त्यहाँबाट घर आउदासम्म बाटोमा संक्रमण भएमा त्यसको जिम्मेवारी कस्ले लिने ? यदि यो निर्णय सच्चाइएन भने माहामारी नियतवस सुरु हुने छ र त्यसको जिम्मेवारी सम्बन्धितले नै लिनुपर्ने छ ।

भिड विषेश अस्पताललाई केहि सूझावहरु : पूर्वतयारीको यत्रो मौका थियो । अस्पतालहरु व्यवस्थापनका केही गतिला व्यवस्थापन गर्न चुकेका छन् । आफ्नो कार्यक्षेत्रमा रहेका क्वारेनटाइनमा भएका मानिसको संख्याका आधारमा आइसोलेट गर्नुपर्ने प्रतिशत आँकलन गरी सोहीअनुसार कहाँ –कहाँ राख्ने ? भन्ने तयारी गर्नुपर्दथ्यो र आजपनि त्यो काम भै सकेको छैन । गाउँपालिकाले पठाएको विरामी सदरमुकामको नगरपालिकालाई जिम्मा लगाउनु भन्दा अस्पतालहरु आफैले त्यो व्यवस्थापनको नेतृत्व गर्नु नितान्त आवश्यक छ । अस्पताललाई समस्या छ भने हामी स्थानीय तहहरु प्रि आइसोलेशन चलाउन तयार छौं यसका लागि आवश्यक मेडिकल अफिसर मात्र भएपनि प्रदेश सरकारले व्यवस्था गरोस् । यतिवेला एक स्थानीय तहमा दुई जना मेडिकल अफिसर पठाउन सक्ने हो भने ठूला अस्पतालहरुले लक्षण देखिएका विरामी मात्र हेर्ने गरी व्यवस्थापन समेत गर्न सकिन्छ अन्यथा लक्षण नभएको विरामीले वेड पाउने छ तर आवश्यकता भएका विरामी बाहिरै मर्ने निश्चित छ । स्थानीय तहहरु क्वारेन्टाइन व्यवस्थापनमा नचुक्ने केस पत्ता लगाउने अस्पताल पठाउने वा अस्पतालको निर्देशनमा चल्ने, स्थानीय तहहरुले मानिस क्वारेन्टाइन गरेको परिवेशमा प्रदेश सरकारका अस्पतालले त्यहाँबाट आएका सबै केशहरु अस्पतालको माताहतमा आइसोलेट र प्रि–आइसोलेशनको व्यवस्थापन गर्ने, मानिसहरुलाई भौतिक दुरी कायम गरेमा कोरोना नसर्ने विश्वास दिलाउने खालका कार्यक्रम सञ्चालन गर्नुपर्दछ । समुदायमा संक्रमण फैलिएमा (छाउगोठको अवधारणा) कोभिड केभ तयार गर्ने र विदेशबाट आएको आफ्नो घरको सदस्यलाई आफैले तयार गरेको केभमा सुरक्षित तरिकाले खानपिन गराएर १ महिना त्यहि राख्ने जस्ता उपाएहरुले हामीलाई कोरोनासँगको लडाइमा विजेता बनाउने छ सबैले आफ्नो भूमिका निर्वाह गरौै । कोरोना फैलिने नै भएपनि विस्तारै फैलिएमा धेरैलाई बचाउन सकिन्छ त्यसैले हिम्मत नहारांै आजको मितिसम्ममा क्वारेन्टाइनसम्म मात्र कोरोना आएको छ समुदायमा प्रवेश गर्न नदिन हामी प्रयासरत रहने प्रतिवद्धता व्यक्त गर्दर्छौै । (लेखक वडिगाड गाउँपालिका स्वास्थ्य शाखा सिआइसिटिटि संयोजक समेत हुन् ।)

प्रकाशित मिति: बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update